बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नमुना सदरमुकाम नवलपुरका लागि साढे ६ सय रुख काटिदै

नमुना सदरमुकाम नवलपुरका लागि साढे ६ सय रुख काटिदै


  • नारायण शर्मा
  • कार्तिक १० २०८१, शनिबार

नवलपुर / नवलपुरको सदरमुकाम कावासोतीमा नमूना जिल्ला सदरमुकामका कार्यालय भवन निर्माणस्थलका रुख काट्ने बाटो खुलेको छ । सहरी विकास मन्त्रालयले वन मन्त्रालयलाई नमूना सदरमुकाम निर्माण स्थालमा रहेका सालका समेत रुख हटाउन प्रक्रियागत पत्र पठाएसँगै रुख काट्ने बाटो खुलेको छ ।

डिभिजन वन कार्यालय प्रमुख वसन्त केशव अधिकारीका अनुसार नमूना सदरमुकाम निमार्णस्थलमा रहेका बिभिन्न जातका ६ सय ५२ वटा रुख काट्नु पर्ने छ । मन्त्रालयले कात्तिक ७ गते सचिव स्तरीय निर्णय गरेर रुख कटानका लागि वन मन्त्रालयलाई पत्र पठाएको मन्त्रालयका भवन आवास तथा योजना महाशाखा प्रमुख दिलिप भण्डारीले बताए ।

वन मन्त्रालयले गत असोज १६ गते नमुना सदरमुकाम निर्माण गरिने ज्योति कुञ्ज सामुदायिक वन क्षेत्रको जग्गाको स्वामित्व राष्ट्रिय आवास कम्पनी लिमिटेडको नाममा रहेकाले त्यस क्षेत्रका रुख हटाउन सहरी विकास मन्त्रालयबाट अनुरोध पत्र माग गरेको थियो । वन मन्त्रालयले माग गरे अनुसार सहरी विकास मन्त्रालयको सचिव स्तरको निर्णय पत्र वन मन्त्रालय पठाइएको प्रमुख भण्डारीले बताए ।

संघीय सांसद विष्णुकुमार कार्कीले सहरी विकास मन्त्रालयले पठाएको पत्र बिहीबार नै वन मन्त्रालय पुग्ने र केही दिनमा रुख कटानको सहमति आउने बताए । कावासोती नगरपालिका-३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक वनभित्र रहेको १ सय ८६ बिघा जग्गामा नमुना सदरमुकाम निर्माणका लागि काम थालिएको हो ।

संविधान अनुसार पूर्वी र पश्चिम नवलपरासी विभाजन गरिएपछि पूर्वी नववलपरासीमा सरकारी कार्यालयहरु भाडाको घरमा संचालन हुँदै आएका छन् । पहिलो चरणमा जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण, जिल्ला अदालतलगायत पाँच वटा कार्यालय सर्ने गरी तीन वटा भवन निर्माणको ठेक्का लागि सकेको छ ।

पूर्वी नवलपरासीका सबै सरकारी भवन एकै स्थान निर्माण गर्ने भनेर तत्कालीन संघीय सांसद तिलक महतले १ सय ८६ बिगाह सामुदायिक वन क्षेत्रको जग्गाको पुर्जा छुटै बनाएका थिए । त्यही जग्गामा एकीकृत नमूना जिल्ला सदरमुकाम निर्माण गर्ने योजना छ ।

भवन निर्माणको टेण्डर निकालेर ठेक्का लागिसकेपछि त्यहाँ रुख भएका कारण नयाँ भवन निर्माणको काम रोकिएको थियो । नमूना सदरमुकाममा कम्तीमा २६ वटा सरकारी कार्यालयका भवन निर्माण हुने छ । त्यहाँ क्रिकेट रंगशाला, अत्याधुनिक खेलकुद मैदान, पार्क समेतको नक्सांकन छ । यो ७७ जिल्लामध्येकै नमूना सदरमुकाम निमार्ण हुने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->