पोखरा/ शैक्षिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष लिलाधर बरालले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको क्षेत्रमा अझैपनि थुप्रै चुनौति रहेको त्यसको सामना गर्नुपर्ने स्थिति रहेको बताए । कोरोना महामारीपश्चात आर्थिक क्षेत्रमा देखिएको शिथिलता कायमै रहेको र आम नागरिकले सहकारीलाई शंकाको नजरले हेर्दै गर्दा शैक्षिक सहकारीमा कुनै समस्या नरहेको बताए । उनले शैक्षिक सहकारीमा कारोबार गर्नका लागि समेत अनुरोध गरे । यस्तै अब रजत जयन्तीको वर्ष शुरु भएकाले सहकारीले रजत जयन्ती स्मारीका प्रकाशत तथा मोबाइल बैंकिङ सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्षले पछिल्लो समय सहकारीमा आएको विकृतिले बचतकर्तालाई शसंकित बनाइरहँदा शैक्षिक सहकारीले कारोबार गरिरहेकोमा खुसी व्यक्त गरे । उनले नेतृत्व असल भएमा सहकारीमा समस्या नआउने बताए । साथै सहकारी प्रति देखिएको नकरात्मक कुरालाई यसरी नै सफलता हात पारिरहेका सहकारीहरुले नै चिर्न सक्ने धारणा व्यक्त गरेका थिए । सहसचिव गौरी चालीसेले सचिवको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
साधारणसभाकै अवसरमा विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो । असल ऋणीबाट मदन गिरी र विमला जलारी, निक्षेपतर्फ पुष्प पौडेल, शर्मीला बराल, बचततर्फ आर्या घिमिरे, पवन पौडेल, क्रमिक बचततर्फ सुरज पौडेल, सनुजा श्रेष्ठ, ज्येष्ठ शेयर सदस्य सम्मानबाट बुद्धिमान श्रेष्ठ, तिर्थमान प्राधानांग, लोकबहादुर श्रेष्ठ, गोपाल बराल र दिलमाया मगर्नीलाई सम्मान गरिएको थियो । शैक्षिक सम्मानबाट एसइईमा उत्कृष्ट नतिजा हासिल गर्ने सेयर सदस्यका छोराछोरीहरु मध्येबाट भाष्कर मल्ल, राहुल भण्डारी र छात्र तर्फ सुस्मिता खत्री तथा स्नातकोत्तर गर्न सफल सन्जु बराललाई सम्मान गरिएको थियो । यस्तै दुई दशक सहकारीमा कर्मचारी रही सेवा निवृत्त भएकी विना सुनार तथा उत्कृष्ट कर्मचारीबाट लेखापाल फुलमाया अधिकारी सम्मानित भएकी छन् ।
कार्यक्रममा सम्मानितबाट जेष्ठ सदस्य तिर्थमान प्राधानांगले बोलेका थिए । यस्तै कार्यक्रममा कास्की जिल्ला सहकारी संघका कोषाध्यक्ष नवराज बराल, सदस्य कृष्ण पोखरेल, विनाकुमारी लोहनी, सिर्जना सहकारीकी अध्यक्ष कृष्मा बराल पहारी, सहकारीका सल्लाहकार लीलाप्रसाद पराजुलीलगायतले बोलेका थिए भने उपाध्यक्ष्ँ बाबुराम घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।





