मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

फापर खेतीमा किसानको मन

फापर खेतीमा किसानको मन


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८१, आइतबार

बागलुङ/ अर्गानिक उत्पादनको रुपमा उपभोक्ताले खोजी खोजी खाने र विभिन्न रोगको उपचार हुने लेकाली फापर खेतीमा किसानको आकर्षण बढेको छ । कतिपय किसानले गाउँघरमै ती उत्पादनको बजारीकरण गरेका छन् भने केही किसानले बजारको खोजी गरेका छन् ।

गलकोट नगरपालिका वडा नंं १० का किसानले पछिल्लो ५ वर्षदेखि अत्यधिक फापर लगाउन थालेका हुन् । औषधिकै रुपमा प्रयोग हुने भए पनि बजारमा चिनाउन र बिक्री गर्न भने किसानलाई अप्ठ्यारो भएको हो । पाण्डवखानी गाउँमा एउटैले ५ मुरीसम्म फापर फलाउने गरेको किसानले बताए ।

फापर रोटी र ढिंडो खानकालागि बढी उपयोग हुने गरेको हो । ‘फापर फलाएर त बिक्रीको समस्या नै छैन,’ स्थानीय राधिका पुनले भनिन्, ‘उचित मूल्य पाउने गरी बिक्री गर्न भने सकिएको छैन ।’ गाउँमा उनीहरुले फापरको रोटी र पुरीसमेत बनाएर खाने गरेका छन् । पूजापाठ र अन्य कार्यक्रममा धेरै पाहुना आउँदा फापर उपयोगी भएको उनले बताइन् ।

स्थानीय पवित्रा पुनले त बजार खोज्न सकेमा उत्पादन बढाउने बताइन् । ‘बजारको व्यवस्था भएमा धेरै फलाउन मन थियो,’ उनले भनिन्, ‘अहिले पनि वर्षको ५ मुरी फापर फलाएर बेचेका छौं ।’ आफ्ना उत्पादनको अर्गानिक ब्राण्ड बनाउने संस्थाको खोजी गरेको उनले बताइन् । अर्गानिक उत्पादन भएपनि सामान्य मूल्यमा बेच्नुपर्दा फाइदा लिन नसकेको उनले गुनासो गरिन् ।

उच्च पहाडी क्षेत्रमा मात्रै फापर उत्पादन हुन्छ । पाण्डवखानीमा दशकदेखि रासायनिक मल भित्रेको छैन । रासायनिक मल नभएको, उपयुक्त हावापानीमा फलेको र पर्याप्त कम्पोष्ट मल प्रयोग भएकोले फापरको ब्राण्ड बनाएर बेच्ने पुनको चाहना छ । आफ्नो उत्पादनलाई प्रमाणित गरिदिने बिज्ञ नभेटेर किसानले सस्तोमा बेच्न बाध्य भएको गुनासो गरे । किसानले लेबल बनाउने तरिका पनि नजान्दा नोक्सानी बेहोरेको बताए । ‘के गरेर अर्गानिक भन्ने प्रमाणित हुन्छ, कसरी बेच्दा फाइदा हुन्छ भन्ने जान्न सकिन’ पुनले भनिन्, ‘बिग्रने र नबिक्ने डरले छिटै बेच्दा नोक्सानी भयो ।’ प्रति पाथी २ सय ५० मा बेचेर सकेको उनले बताइन् ।

त्यही फापरलाई लेबल र प्याक बनाएर बेचेको भए एक पाथीको १ हजार रुपैयाा सम्म कमाइ हुन्थ्यो । बजारमा बेचेको देखेपनि उनले प्राविधिक सहयोग र बजारीकरणमा साथ नपाएको गुनासो गरिन् । पाण्डवखानीकै घुम्टे महिला कृषि समूहमा आबद्द ३० जना उद्यमीको समस्या साझा छ । उनीहरु हरेकको घरमा फापर फलेको थियो । सबैको उत्पादनबाट ७ लाख ५० हजार मात्रै कमाइ भयो । तर प्याकीङ गरेको भए ३० लाख भन्दा धेरै कमाउन सकिने उनीहरुले अनुमान गरेका छन् ।

समूहका हरेकको बारीमा सिमीसमेत फलाएका थिए । बजारको समस्या देखेर उनीहरुले सस्तो दरमा बेचेको बताए । ‘हामीले ७ सय पाथी सिमी पनि फलायौं, तर बिक्री नहोला भनेर छिटै सस्तोमा पठाउन बाध्य भया,ैं’ समूहकी सचिव टुलीमाया पुनले भनिन्, ‘संकलन गरेर राख्ने स्थान पनि भएन ।’ पुनले मात्रै एक मुरी सिमी फलाएको बताइन् । सुरक्षित रुपमा राखेर महंगोमा बेच्न सक्ने प्रविधिबारे सहयोग माग्न नसक्दा समस्या भोगेको उनको भनाइ थियो ।

यहाँका किसानले मकै र कोदो पनि अर्गानिक फलाउने गरेका छन् । तोरी, गहुँ र जौसमेत फल्ने पाण्डवखानीका किसानको उत्पादनलाई एकीकृत गरेर बजारीकरणमा सहयोग चाहिएको वडा अध्यक्ष भक्त काउचाले बताए । ‘नगर भित्र कृषि बिज्ञ नभएकोले जिल्ला स्थित कृषि ज्ञान केन्द्रको सहयोग चाहिन्छ,’ उनले भने, ‘पूर्वाधार निर्माणमा नगरपालिकाबाट पनि श्रोत साधन ल्याउन पहल गर्छौ ।’ यहाँको वास्तविकता देखेपछि तेलहन बाली प्रवद्र्धन कार्यक्रम संचालन गर्ने योजना बनाएपनि लागू गर्न नसकेको बाली बिकास अधिकृत कुमार पुनले बताए । ‘गाउ“मै प्रशोधन मेसिन स्थापना गराएर गाउँमै अर्गानिक तेल उत्पादन गर्न सकियो भने किसानले उत्पादन बढाउन चाहेका छन्,’पुनले भने, ‘किसानले पनि लगानी गर्न खोजेकोले मेसिन ल्याउन पहल गर्र्दैछौं ।’ बर्षेनी तोकिएको मात्रामा उत्पादन हुन्छ भन्ने प्रतिवद्धता भएमा अर्गानिक बालीको प्रचार र बजारीकरणमा केन्द्रले साथ दिने उनले बताए । उत्पादन राम्रो भए पनि अहिले सम्म फापरको व्यवसायिक उत्पादनको तथ्यांक भने छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->