बागलुङ/ मातृभूमि बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले सहकारीहरु बिपन्न नागरिकको व्यवसाय उकास्न र दैनिकी संचालनमा सहयोगी बन्नुपर्ने बताए । उनले सहकारीहरुमा लागेको ठगीको आरोप चिर्न पनि पहल हुनुपर्ने बताए ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सहकारीलाई नियमन गरेर शेयर सदस्य केन्द्रीत बनाउनु पर्ने आजको आवश्यकता भएको भन्दै नगरपालिका भित्र दर्ता भएका सहकारीको नियमन नियमति गरिएको पनि बताए ।
सहकारीका अध्यक्ष गुणराज पौडेलको अध्यक्षता, सचिव रामप्रसाद शर्माको संचालन र उपाध्यक्ष केदारनाथ पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा सल्लाहकार भवनराज बराल, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक अमृत श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अबसरमा ७० बर्ष काटेका शेयर सदस्य कौशिला सर्किनीलाई सम्मान गरिएको थियो । त्यस्तै कक्षा १२ मा उत्कृष्ठ हुने सदिक्षा पौडेल र सुमितराज महतोलाई सम्मान तथा पुरस्कार दिइएको थियो । सहकारीले उत्कृष्ठ मुद्दती कारोवार गर्ने माधवप्रसाद उपाध्याय, चल्ती कारोबार गर्ने सीताकुमारी सुवेदी, आवधिक कारोवार गर्ने शान्ति केसी, बाल बचतकर्ता दिपाली पन्त र चल्ती बचतकर्ता राजेन्द्र घर्तीलाई सम्मान गरेको थियो । उत्कृष्ठ बचतकर्ता तर्फ नै थानकुमारी शर्मा, असल ऋणी नुना पुन, महम्मद उवारक खान तथा कर्मचारी एलिना रोकालाई सम्मान गरियो । कार्यक्रममा सचिव शर्माको प्रगती प्रतिवेदन र कोषाध्यक्ष हरिप्रसाद आचार्यको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
संस्थामा २ करोड ५छ लाख ४७ हजार शेयर पूजि रहेकोमा ६४ लाख ५१ हजारको जगेडा कोष तथा २ करोड ५३ लाखको अन्य कोष रहेको र ७ करोड ५६ लाख बचत रहेको बताइएको थियो । यो अबधिमा सहकारीले ९ करोड ३ लाख रुपैयाँ लगानीमा रहेको बताइएको छ । यो वर्ष सहकारीले खुद ५ लाख १२ हजार नाफा कमाएको कोषाध्यष आचार्यले जानकारी दिए ।





