पोखरा/ गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन गरेका छन् । प्रदेशअन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाका पुगेका हुन् ।
प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट यताका नेपालका भुुभाग निरीक्षण गरेका थिए । त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपालतर्फको प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले चीनतर्फ भव्य भवनलगायतका आधुनिक संरचना बनिसकेको जानकारी गराएका थिए ।
तिब्बततर्फ भन्सार लगायतका कार्यालयका लागि भव्य भवन र सहरी योजना बनाइसकेकाले नेपालतर्फ पनि आवश्यक संरचना आवश्यक भइसकेको प्रजिअ भुसालले जानकारी गराए । बेनी जोमसोम र जोमसोम कोरला सडक स्तरोन्नतिमा ढिलाइ गर्न नहुने पनि उनको भनाइ थियो ।
धेरै पहिले नेपाल–तिब्बत व्यापारको महत्वपूर्ण नाका रहेकाले अब यसलाई सहज रुपमा खुलाउन सकेमा गण्डकी प्रदेशसँगै समग्र मुलुककै आर्थिक विकासमा टेवा पुग्ने लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए । नेपाल–चीन जोड्ने अन्य नाकाहरू भन्दा कोरला नाका सुरक्षित र छोटो भएकाले यस नाकालाई नेपाल सरकारले तुरुन्त खोल्न सके व्यापार मात्र होइन, पर्यटन क्षेत्रलाई पनि फाइदा गर्ने उनको भनाइ थियो ।
लोमन्थाङ गाउँपालिका वडा नं.ं २ अध्यक्ष कर्म नाम्ग्याल गुरुङले चीन तर्फका सबै संरचना बनिसकेकाले कोरला नाकालाई सहज रुपमा खुलाउन अब समस्या नरहेको भन्दै पहलका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराए । लोमन्थाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने खाँचो पनि उनले औंल्याए । कोरला नाका खुलाउन सके पोखरा आर्थिक केन्द्र बन्न सक्ने नेकपा एमाले लोमन्थाङ गाउँपालिका कमिटि अध्यक्ष लाक्पा वाङ्दी गुरुङले बताए शालिग्राम उत्पत्ति भएको ठाउँ दामोदरकुण्ड पनि यहीँ रहेकाले मुक्तिनाथ हुँदै यस क्षेत्र धार्मिक पर्यटनको पनि केन्द्र बन्न सक्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
जिल्लाको पर्यटन विकासमा नेपाल सरकार र गण्डकी सरकारले विशेष ध्यान दिनुपर्ने वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रमेश गुरुङले बताए ।





