बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८१, सोमबार

काठमाडौं / सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त दान प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश गरेको हो। अन्तरिम आदेश जारी हुने कि नहुने भनेर अब संयुक्त इजलासमा छलफल हुनेछ।

विभिन्न भ्रष्टाचार, किर्ते र भ्याट छली काण्डमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भनी गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए।

सोही दिन प्रधानमन्त्री ओली दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए। मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै अधिवक्ता बस्नेतले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।

आफूले दान गरेको जमिनमा अर्को वर्ष दसैँको घटस्थापनाका दिन उद्घाटन गर्ने गरी एमाले केन्द्रीय कार्यालय भवनसमेत बनाइदिने घोषणा व्यवसायी गुरुङले गरेका थिए।

हालको प्रचलित बजार मूल्यअनुसार उनले दान गरेको जग्गाको मोल ७० करोड रुपैयाँ हाराहारी हुन्छ। गुरुङ चर्चित ललिता निवास जग्गा घोटाला प्रकरणका मुख्य दोषी हुन्। उनलाई विशेष अदालतले २ वर्ष कैद कैद सजाय सुनाएको छ।

त्यस्तै, सोही प्रकरणमा जिल्ला अदालतमा पनि लिखत कसुर (किर्ते) सम्बन्धी मुद्दा पनि विचाराधीन छ। यस्तै भ्याट छली प्रकरणमा पनि उनी दोषी ठहर भएका छन्।

विवादित व्यवसायीबाट जग्गादान लिएको विषयमा एमालेभित्रै पनि आलोचना भइरहेको छ। आलोचना गर्ने तीन नेता भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई एमालेले कारबाही प्रक्रियासमेत अघि बढाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->