बागलुङ /बलेवा एकता बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभासम्पन्न भएको छ । यसअघि क्षेत्रगत साधारणसभा सम्पन्न गरेको सहकारीले प्रतिनिधिमूलक केन्द्रीय साधारणसभा गरेको हो ।
साधारणसभा उद्घाटन गर्दै बागलुङ नगरपालिकाका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले सहकारीहरुले सहकारी शिक्षामा विशेष जोड दिनुपर्ने बताए । उनले बलेवा एकता सहकारीले सदस्यहरुलाई विश्वासमा लिएर संस्थागत रुपमा काम गरिरहेको उल्लेख गर्दे विभिन्न स्थानहरुमा सेवा केन्द्र स्थापना गरेर ५ बर्षिय रणनीतिक योजनासहित काम गर्नु महत्वपूर्ण कार्य भएको बताए ।
२०६७ असोज ६ गते बानपा–१४ नारायणस्थानमा स्थापना भएको सहकारीले नारायणस्थानमा केन्द्रीय तथा बागलुङ बजार, बानपा–१२ अमलाचौर तथा बानपा–१३ पैयुपाटामा सेवा केन्द्र स्थापना गरी आफ्ना सदस्यलाई वित्तीय तथा गैर वित्तीय र रेमिट्यान्स सेवा दिइरहेको छ । अत्याधुनिक कम्प्युटराइज व्यवस्थापन, एसएमएस, इन्टरनेट बैकिङ तथा क्यूआर कोड सुविधासहित सेवा प्रवाह गरिरहेको सहकारीले रासायनिक मल तथा बीऊको प्रबन्ध, विद्युत महशुल भुक्तानी, वायुसेवा टिकट बुकिङलगायतका सेवा दिने गरेको छ ।
१२ जनालाई प्रत्यक्ष रोजगारी दिएको सहकारीको २ करोड ५२ लाख ९ हजार १ सय शेयर पूँजी, २१ करोड ३ लाख ४९ हजार ९२५ रुपैयाँ ऋण लगानी र २३ करोड ५४ लाख ७२ हजार ७ सय ६६ रुपैयाँ निक्षेप संकलन रहेको प्रबन्धक भरत पौडेलले जानकारी दिए । सहकारीले राम्रो कारोवार गर्ने सदस्य, सेवा केन्द्र र राम्रो काम गर्ने प्रबन्धक पौडेलसहितका कर्मचारीलाई सम्मान गरेको थियो ।
४४२ सदस्यलाई ऋण लगानी गरेको प्रबन्धक पौडेलले बताए । सहकारीका संचालक समिति अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष धनबहादुर रोकाको स्वागत तथा प्रबन्धक भरत पौडेलले कार्यक्रम गरेका थिए ।





