बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण: धेरैको काठमाडौंमा घर

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण: धेरैको काठमाडौंमा घर

मुख्यमन्त्री पाण्डे धेरै धनी, मन्त्रीहरु थापा, केसी र पौडेल


  • लालप्रसाद शर्मा
  • कार्तिक १४ २०८१, बुधबार
फाइल तस्विर

पोखरा/ गण्डकी प्रदेशका मुख्यन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अधिकांश मन्त्री धनी देखिएका छन् । गण्डकी सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने आचारसंहिता जारी गरे पनि त्यसविपरीत ढिलो गरी सम्पत्ती सार्वजनिक भएको हो । पछिल्लो पटक जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारका ९ जना नै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने कात्तिक १२ गतेको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
सम्पत्ति विवरण अनुसार सबैभन्दा धनीमा व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा होमिएका सामाजिक बिकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीप्रकाशबहादुर केसी र वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल छन् । को ठाउँ–ठाउँमा प्रशस्त घरजग्गा र सुनचाँदी रहेका थापा र पौडेल कांग्रेसबाट र केसी एमालेबाट मन्त्री बनेका हुन ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पैतृक सम्पत्ति धेरै देखिएको छ । उनको गृहजिल्ला गोरखासहित काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको विवरणमा छ ।  गोरखाको पालुङटार नगरपालिका–१ मा ४ कित्तामा जग्गा छ भने कपिलवस्तुमा २ कित्ता र भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५ कित्तामा मोहीबाट कमोद भएको सगोलको जग्गा रहेको पाण्डेले विवरण पेश गरेका छन । यसअघि सम्पत्ति विवरण बुझाउँदा उनीसँग ४२ तोला सुन, ५ सय तोला चाँदी रहेकोमा अहिले ३ तोला सुन र २ सय तोला चाँदी बढेको छ । उनीसँग २ सेट हिरा र १ सेट मोती पनि छन् । व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २७ लाख ७४ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले खुलाएका छन् ।

पत्नी विना पाण्डेको नाममा प्रभु बैंकमा ६७ लाख रुपैयाँ तलब तथा उपदानमार्फत नगद जम्मा गरेको मुख्यमन्त्री पाण्डेको विवरणमा छ ।  छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा ४ लाख ७८ हजार बैंक मौज्दात छ । मुख्यमन्त्री पाण्डेको दियालो फुडल्याण्ड प्रालिमा ६१ हजार १ सय, बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता शेयर रहेको र श्रीमती विनाका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ५ हजार, छोरा सुयोग्यको नाममा ४ हजार कित्ता शेयर रहेको विवरणमा जनाइएको छ । मुख्यमन्त्री पाण्डेसँग श्रीमतीको नाममा एउटा मारुती बलेरो कार, २ टिभी फ्रिज २, वासिङ मेसिन, माइक्रोओभन, किचनसहित पूर्ण फर्निसिङ घर रहेको उल्लेख गरेका छन् ।

सामाजिक बिकासमन्त्री विन्दुकुमार थापा

गण्डकीका मन्त्रीहरुमध्ये सबैभन्दा धनी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा रहेका छन । थापाको श्रीमती, छोरा र कम्पनीको नाममा प्रशस्त घरजग्गा र शेयर रहेको छ ।

मन्त्री थापाको श्रीमती मनलक्ष्मी थापाको नाममा मात्र १९ स्थानमा अर्बौको घरजग्गा छ । थापाकै अर्की श्रीमती राधा थापा क्षेत्रीको नाममा १३ ठाउँमा घरजग्गा छ । छोरा सौगातका नाममा १० ठाउँमा शेयर र विभिन्न सम्पत्ति छ भने थापाको विभिन्न कम्पनि, होटल, रिसोर्ट, अटो व्यवसायमा लगानी छ । थापाले पोखरा महानगरपालिकाका ८, ९, १७, २८, २९, ६ नम्बर वडामा जग्गा रहेको सम्पत्ति विवरणमा जनाएका छन् । मन्त्री थापाको नाममा पोखराको नयाँ बजारमा भव्य ३ घर छन् । पोखरामा ३ वटा होटल तथा रिसोर्ट र २ वटा ब्यापारिक भवन छन् । उनले पोखरामा पोखरा बुटिक होटल प्रालि, बगैंचा रिसोर्ट र रोयल हिमालयन रिसोर्ट प्रालि सञ्चालन गरेका छन् । त्यस्तै सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर प्रालिलगायतका व्यापारिक भवन पनि छन् । पोखराकै ठूलो मल मध्यमा पर्ने पोखरा ट्रेड मलको मुख्य लगानीकर्ता पनि उनै हुन् ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापाले विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । थापा यसअघि कानुन मन्त्री हुँदा ९० तोला सुन रहेकोमा अहिले १६० तोला पुगेको छ । ७५० तोला चाँदी र २० तोला हिरा रहेको उनको सम्पत्ति विवरणमा छ । थापासँग २ करोड, १ करोड १२ लाख र १ करोड १६ लाख रुपैयाँका ३ वटा गाडी छन् । थापाको लुम्विनी विकास बैंकमा ५६ लाख र एनएमबी बैंकमा ६ करोड ६३ लाखको शेयर छ ।

थापाले एनएमबी बैंकमा १२ करोड ३१ लख, ग्रिन डेभलपमेन्ट बैंकमा १२ करोड ५० लाख, पोखरा फाइनान्समा ८५ करोड, मनोहरजंग राणाबाट ९४ लाख ९५ हजार, अनिता थापाबाट ५५ लाख र ३० लाख रुपैयाँ ऋण लिएको विवरणमा छ ।

भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी पनि धनी मन्त्रीको रुपमा रहेका छन । केसीको पोखरा– १२ मा २ ठाउँमा घरजग्गा छ भने ललितपुर–२ मा पनि घरजग्गा छ । पोखरा–१२, पोखरा–१४, पोखरा वडा नम्बर ६, २३, २४, २९ मा उनको करोडौं पर्ने जग्गाहरु छन् । साथै उनीसँग ५ सेट हिरा, ९५ तोला सुन, सवा ११ किलो चाँदी छ । उनले करिब ८० लाख ऋण देखाएका छन् । गण्डकी हाइड्रोमा १ करोड ८० लाख, युनिफाइड हाइड्रोमा ५६ लाख रहेको खुलाएका छन् ।

माछापुच्छ्रे बैंकमा शेयर रहेको बताए पनि रकम भने खुलाइएको छैन । श्रीवृद्धि सहकारी र वाराही प्रशारण प्रालिमा उनले शेयर रहेको खुलाएका छन् । १ करोड ९ लाख रुपैयाँ उनले विभिन्न व्यक्तिलाई ऋण दिएका छन् । उनले पोखरा १२ को घरबाट मासिक ५ लाख रुपैयाँ बहालमार्फत प्राप्त हुने बताएका छन् ।

वन तथा वातावरणमन्त्ती भेषबहादुर पौडेल

गण्डकीका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको गृहजिल्ला लमजुङसहित पोखरा र काठमाडौंमा घरजग्गा रहेको छ । उनले सम्पत्ती देखाए पनि मूल्य भने खुलेको छैन । पौडेलको लमजुङ सदरमुकाम बेशीसहरमा ८ ठाउँमा जग्गा, ८० तोला सुन, ६० तोला चाँदी, ५ सेट हिरा र २५ लाख नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । साथै कृषि विकास बैंक, ग्लोबल आइएमई, एसबीआई बैंकमा खाता रहेको उल्लेख गरे पनि रकम खुलाएका छैनन् । उनको ग्लोबल आईएमई बैंकमा ११ हजार कित्ता र लिबर्टी हाइड्रोमा १८ हजार कित्ता शेयर छ ।

पौडेलेको गेट वे हिमालयन रिसोर्टका नाममा ८० लाख र ५६ लाखको २ वटा जिप रहेको सम्पत्ति विवरणमा छ । अन्य ठाउँमा छिटफुट जग्गा तथा सम्पत्ति हुन सक्ने उनले उल्लेख गरेका छन् । उनले १२ करोड राष्ट्रिय वाणिज्य बैंकबाट, १ करोड सिद्धार्थ बैंकबाट र ५० लाख नबिल बैंकबाट ऋण लिएको खुलाएका छन् ।

आर्थिक मामिला मन्त्री टकराज गुरुङ

प्रदेशका अर्थमन्त्री टकराज गुरुङको लमजुङ र काठमाडौंमा घरजग्गा छ । काठमाडौंका २ ठाउँमा २ कित्तामा घरजग्गा, लमजुङ राइनासमा ११ कित्ता जग्गा र ५ करोड रुपैयाँ बराबरको होटल राइनास होम सञ्चालनमा रहेको विवरणमा छ । श्रीमतीको नाममा १० /१० तोला सुनचाँदी रहेको, श्रीमती र आफ्नो नाममा ३३ र १२ लाखका २ वटा गाडी रहेको उनले जनाएका छन् ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आफ्नो भन्दा पनि पैतृक र छोराबुहारीले जोडेको सम्पत्ति देखाएका छन् । छोराबुहारीको वैदेशिक रोजगारको कमाइबाट काठमाडौंको चन्द्रागिरी नगरपालिकामा १ करोड ४९ लाख रुपैयाँमा घरजग्गा किनेको उनले उल्लेख गरेका छन् । त्यो जग्गा कृष्णकुमारी पाठक र कविता पाठकको नाममा रहेको छ । पाठकको बागलुङ नगरपालिका–१२ मा ३ कित्तामा आफ्नो नामको जग्गा देखाएका छन् । उनीसँग ८ तोला सुन र २० तोला चाँदी छ । उनले झण्डै २ लाख बैंक मौज्दात देखाएका छन् भने काठेखोला हाइड्रोपावरमा एक सय कित्ता सेयर रहेको खुलाएका छन् ।

भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठ

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठसँग आफ्नो र श्रीमानको नाममा घरजग्गा र सम्पत्ति रहेको विवरण छ । उनको काठमाडौं टोखामा र नवलपुरको कावासोतीमा घर छ । कावासोतीमा ४ कित्तामा उनको जग्गा छ भने श्रीमान तथा पूर्वसांसद जीवनराम श्रेष्ठको नाममा ४ कित्ता जग्गा छ । श्रेष्ठसँग ३१ तोला सुन र २८५ तोला चाँदी छ । १ लाख ११ हजार रुपैयाँमात्र बैंक मौज्दात खुलाएकी जिसीको एनएमबी बैंकमा ३९ लाख ९० हजार व्यक्तिगत ऋण रहेको उल्लेख गरेकी छन् । श्रीमान जीवनको नाममा ३७ लाख रुपैयाँको गाडी समेत छ । उनको पिपुल्स हाइड्रोमा १० लाख रुपैयाँ, कामना सेवा विकास बैंकमा २ हजार ८०० कित्ता र कालीगण्डकी सहकारीमा १ लाख सेयर रहेको विवरणमा छ ।

उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा

ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाको पनि गोरखाको पालुङटार र काठमाडौंको कीर्तिपुरमा घर छ । उनले काठमाडौंमा पैतृक सम्पत्ति बकसपत्रबाट प्राप्त जग्गामध्ये ९ आना बेचेर घर बनाएको जनाएका छन । बण्डा नभएको २ वटा घर बुवा टेकनाथकै नाममा गोरखा पालुङटारमा रहेको देवकोटाको सम्पत्ति विवरणमा छ। ११ वटा कित्तामा पालुङटारमा उनको जग्गा छ । उनले ६० लाख रुपैयाँ जग्गा किन्नका लागि दाङ निवासी पवन रेग्मीलाई बैना दिएको पनि खुलाएका छन् । उनले चुनावका लागि पवनबाट केही रकम लिएको र उक्त रकम तीन वर्षको व्याजमा कट्टा हुने गरी कारोबार गरेको बताएका छन् । बैनास्वरुप दिएको रकमबाट जग्गा पास गरी दिन बाँकी रहेको तर उक्त जग्गाको मूल्य बढ्दै गएको देवकोटाले खुलाएका छन् ।

देवकोटासँग १० १२ तोला सुनका गहना रहेको छ । उनले झण्डै ५ लाख बैंक मौज्दात, एउटा स्कुटर, नेपाल लाइफ इन्सुरेन्समा शेयर रहेको र विभिन्न आमा समूह, महिला समूहमा मासिक बचत गरेको देवकोटाले सम्पत्ति विवरणमा खुलाएका छन् । उनले ३ थान घडी, मोबाइल ४ थान, ल्यापटप ३ थान, सोलार, फ्रिज, माइक्रोओभन, दराजहरुलगायत सम्पत्ति रहेको खुलाएका छन् ।

उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल

यसैगरी उद्योगतथा पर्यटनमन्त्री मित्रलाल बस्याल भने अरु मन्त्रीको तुलनामा कम सम्पत्ति भएकोमा परेका छन् । उनले आफ्नो नाममा पर्वत पैयुँमा र छोराका नाममा रुपन्देहीमा १२ कित्ता जग्गा रहेको विवरणमा छ । करिब ५ रोपनीमा धान खेती गर्ने गरेको उल्लेख गरेका छन् । उनको न्यू अन्नपूर्ण मेट सप्लायर्समा ५० लाख रुपैयाँ लगानी रहेको छ । उनीसँग ८ तोला सुन रहेका तर सवारी साधन भने नभएको जनाएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->