मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङ उद्योग बाणिज्य संघको कोसेली घर संचालन

बागलुङ उद्योग बाणिज्य संघको कोसेली घर संचालन


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८१, बिहिबार

बागलुङ/लक्ष्मीपूजाको अबसर पारेर बागलुङ उद्योग बाणिज्य संघले कोसेली घरको शुभारम्भ गरेको छ । गण्डकी प्रदेश सभाका सदस्य जितबहादुर शेरचनले बिहिबार कोसेली घर उद्घाटन गरे ।
संघले विभिन्न निकायको सहयोग जुटाएर कोसेली घर बनाएको हो । उक्त घर संघको कार्यालयकै सटरमा संचालनमा आएको हो । उक्त कोसेली घरमा जिल्लाका उद्यमीहरुले उत्पादन गर्ने स्थानीय परिकार, सामाग्री र कृषिजन्य वस्तुहरु राखिनेछन् ।
कोसेली घर उद्घाटन गर्दै शेरचनले ग्रामीण उद्यमशिलताबाट रोजगारी सिर्जना गर्नुपर्ने आवस्यकतालाई संघले आत्मसाथ गरेको बताए । उनले देशकै अर्थतन्त्र सुधार गर्न पनि उद्यमी प्रोत्साहनको कार्यक्रम आवस्यक पर्ने बताए । ‘देशमा संभावना खोजेर युवालाई उद्यमशिलता बनाउने काममा संघले नेतृत्व लिनुपर्छ’ शेरचनले भने, ‘राज्य र राजनीतिक नेतृत्वले वातावरण बनाउन सहयोग गर्छौ ।’ उद्यमशिलता र श्रमलाई जीवनको अध्याय बनाउन सक्दा राष्ट्रिय अर्थतन्त्रमा पनि सुधार हुने उनले बताए ।
कार्यक्रममा संघका अध्यक्ष नरेश कंडेलले कोसेली घरको औचित्यबारे जानकारी दिए । साथै दशवटै पालिकामा उत्पादन हुने वस्तुहरु राखिने र त्यसका लािग हरेक पालिकालाई आफ्नो उत्पादनको पहिचान गर्ने चुनौती समेत बनेको धारणा राखे ।
कंडेलका अनुसार, कोसेली घर निर्माण तथा संचालनमा गण्डकी प्रदेश सरकारले ३ लाख ५० हजार, पर्यटन तथा उद्योग कार्यालयले ५ लाख, बागलुङ नगरपालिकाले २ लाख र संघको कोषबाट ८ लाख गरी २० लाख लगानी भएको छ ।
संघले बनाएको घुम्ती कोषबाट ४ लाख र अन्य ५ लाख ६४ हजार गरी झण्डै १० लाखको सामाग्री समेत राखिएको हो । संघकै भवनको सटरमा कोसेली घर निर्माणमा अघिल्लो वर्षपनि नगरपालिकाले सहयोग गरेको थियो । अहिले पनि यहाँ स्थानीय सिमी केराउ, बोडी, च्याउ, भांगो, रातो च्याउ, अल्लो र ढाकाका कपडा, घरेलु विधिबाट बनेका फलामका सामान, निगालोका सामाग्री राखिएको हो ।
कोसेली घरमा राखिएका सामान बिक्री गर्ने तथा मायाको चिनोको रुपमा पनि दिने व्यवस्था छ । साथै, किसान र उद्यमीको उत्पादनलाई संघले खरिद गरेर राख्ने व्यवस्थापन हुनेछ । त्यसबाहेक स्थानीय तहहरुले सहयोग गरेमा उद्यमीको सामान ल्याएर बिक्रीमा पनि संघले साथ दिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->