बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मुख्यमन्त्रीले बढाए तीन तोला सुन, सहकारीमन्त्रीको सहकारीमै छ ऋण

मुख्यमन्त्रीले बढाए तीन तोला सुन, सहकारीमन्त्रीको सहकारीमै छ ऋण

सुन, चाँदी, हीरा, व्यापार, व्यवसाय र घरजग्गाका धनी सामाजिक मन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८१, बिहिबार

पोखरा / दोश्रोपटक मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले एक वर्षको अवधिमा तीन तोला सुन बढाएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेवसाइटमा सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग अहिले ४५ तोला सुन छ । जबकि, गतसालको असोजमा सार्वजनिक विवरण अनुसार उनीसँग ४२ तोला मात्रै सुन थियो ।
६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गण्डकीका मन्त्रिपरिषद् सदस्यको आचारसंहिता विपरीत चार महिनापछि गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वेवसाइटमार्फत् सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

मुख्यमन्त्री पाण्डेसँग चाँदी सात सय तोला र २ सेट हीरा छ । जग्गा बेचेर हीरा किनेको उनले उल्लेख गरका छन । पाण्डेसँग १ सेट मोति पनि रहेको छ । गोरखाको पालुङटारमा जन्मेका पाण्डेसँग काठमाण्डौ महानगरपालिका ३ मा २१२ वर्गमिटर क्षेत्रफलमा बनेको घर छ । गोरखामा ५ रोपनी १० आना १ दाम जग्गा र घर छ । यी दुवै सम्पत्ति पैतृक रहेको उनले खुलाएका छन ।

यसबाहेक गोरखामा तीन कित्तामा पैतृक जग्गा रहेको उनले खुलाएका छन् । कपिलवस्तुमा पनि उनको दुई कित्तामा जग्गा छ । यो पनि पैतृक नै रहेको खुलाएका छन ।
यस वर्ष उनले भक्तपुरमा पनि जग्गा रहेको खुलाएका छन । सूर्यविनायक नगरपालिकामा ५ कित्तामा करिब १० रोपनी जति जग्गा रहेको र यसको प्राप्तिको स्रोत चाहिँ मोहीबाट कमोद भएको सगोलको जग्गा रहेको विवरणमा उल्लेख छ ।

एभरेस्ट बैंकमा मुख्यमन्त्री पाण्डेको २७ लाख ७४ हजार नगद मौज्दात छ । श्रीमती बिना पाण्डेसँग प्रभु बैंकमा मुद्दति खातामा ७१ लाख बीस हजार नगद छ भने छोरा सुयोग्यराज पाण्डेको नाममा ग्लोबल आइएमईमा चार लाख ७८ हजार रुपैयाँ मौज्दात छ ।

श्रीमतीको नामको ७१ लाख रुपैयाँको स्रोत उपदान र जग्गा बिक्री रहेको छ ।उनकी श्रीमतीको नाममा ३२ लाखको कार छ । दियालो फुडल्याण्डमा मुख्यमन्त्री पाण्डेको ६१ हजार एकसय कित्ता शेयर रहेको छ । बैंक तथा वित्तीय संस्थामा पाँच हजार कित्ता शेयर लगानी पाण्डेको छ ।

सहकारीमन्त्रीसँग सहकारीको ऋण
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठको सहकारीमा १० लाख ऋण रहेको छ । नवलपुरकी श्रेष्ठले कालीगण्डकी ऋण तथा सहकारी संस्थाबाट १० लाख ९१ हजार पाँच सय ८७ रुपैयाँ ऋण लिएकी हुन् । सार्वजनिक सम्पत्ति विवरण अनुसार उनले एनएमबी बैंकबाट पनि ३९ लाख ९० हजार रुपैयाँ व्यक्तिगत ऋण लिएकी छन ।

पति जीवन श्रेष्ठको नाममा काठमाडौंको टोखा र नवपलपुरको कावासोतीमा घर छ । उनको नाममा कावासोतीमा दुई ठाउँमा घर छ । नवलपुरकै कावासोतीमा मन्त्री दम्पत्तिको ६ ठाउँमा जग्गा छ ।

मन्त्री श्रेष्ठसँग ३१ तोला सुन र २८५ तोला चाँदी छ । प्राप्तिको स्रोत भने उनले खुलाएकी छैनन् । कृषि विकास बैंकमा एक लाख ११ हजार तीन सय ६८ रुपैयाँ बचत श्रेष्ठको रहेको छ । किस्तामा किनेको गाडी उनको श्रीमानको नाममा छ ।

लमजुङको पिपुल्स हाइड्रोबाट १० लाख बराबरको शेयर उनको नाममा छ । कामना सेवा विकास बंैकमा २८ सय किस्ता र कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थामा एकलाख कित्ता शेयर उनको छ ।

सुन, चाँदी, हीरा, व्यापार, व्यवसाय र घरजग्गाका धनी विन्दुकुमार थापा
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री हुन्, विन्दुकुमार थापा । उनी पोखरा धनाढ्यमध्येका एक हुन् । उनको सुन, चाँदी, हिरादेखि होटल, घरजग्गगै रहेको सम्पत्ति विवरणमा देखिएको छन् । मन्त्री थापाको पोखरा, नयाँ बजारमा भव्य घर र घरले चर्चेको ३ हजार ९ सय ११ वर्गमिटर जग्गा छ ।

उनको परिवारको नाममा पनि पोखराका अधिकांश वडामा जग्गा रहेको खुलाएका छन् । थापाले अंशुभरा स्क्युवार प्रालि, फुड एण्ड रिटेल, रोयल हिमालयन रिसोर्ट, पोखरा ट्रेड मल, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा फाउण्डेसन, अंशुभरा फुड एण्ड वेभरेल, अंशुभरा एग्रो रहेको सम्पत्ति विवरणमा देखाएका छन् । थापासँग १६० तोला सुन, ५७० तोला चाँदी र २० तोला हीरा रहेको छ ।

दुई करोड ८० लाख ऋण दिएका छन्, भौतिकमन्त्रीले
भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसीले दुई करोड ८० लाख रुपैयाँ त ऋण मात्रै दिएका छन । विवरण अनुसार उनले शुभ जगदम्बा कन्सट्रक्सनलाई एक करोड ९० लाख रुपैयाँ र थप दुई व्यक्तिलाई ४५÷४५ लाख रुपैयाँ ऋण दिएका छन ।

यसबाहेक सटरहरुबाट मासिक चार लाख रुपैयाँ आम्दानी उनले गर्छन् । पोखरा १२ हस्पिटल चोकका सटरहरु उनले भाडामा लगाएका छन । त्यहाँबाट मासिक आम्दानी हुने उनले खुलाएका छन । उनले हाइड्रोपावरदेखि विभिन्न बैंकमा लगानी रहेको उल्लेख गरेका छन् । पोखरा–१२ मा घर र घरले चर्चेको २२६ वर्गमिटर जग्गा छ । सोही ठाउँमा अर्को घर र २०४ वर्गमिटर जग्गा छ ।

ललितपुरमा उनले घरसहित ८ आना जग्गा खरिद गरेका छन् र पोखराका विभिन्न वडामा जग्गा रहेको उनले खुलाएका छन् । ५ सेट हीराको हार, ९५ तोला सुन, डेढ किलो चाँदी विवरणमा उल्लेख गरेका छन् । मन्त्री केसीसँग गण्डकी हाइड्रोपावरमा १ लाख ८० कित्ता सेयर, युनिफाइड हाइड्रोमा ५६ हजार २७० कित्ता, माछापुच्छ्रे बैंकमा पनि सेयर छ भने श्रीबृद्धि सहकारीमा ४ हजार कित्ता सेयर छ ।

वनमन्त्रीसँग रिसोर्ट
अघिल्लो हप्तामात्र मन्त्री बनेका भेषबहादुर पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रदेशका वन तथा वातावरणमन्त्री रहेका पौडेलको लमजुङको बेंसीसहरमा गेटवे हिमालय रिसोर्ट छ । पौडेलसँग ८० तोला सुन, ६० तोला चाँदी र ५ सेट हिरा रहेको छ ।

लमजुङको बेंसीसहरमा घर र घरले चर्चेको २५ सय वर्गमिटर जग्गा छ । सोही ठाउँमा अर्को १ हजार वर्गमिटर जग्गा र घर छ भने फूलमाया पौडेलको नाममा काठमाडौँमा घर र ६५६ वर्गमिटर जग्गा छ । उनीहरूको ४२ रोपनी जग्गा बेंसीसहरमा छ । लाखौं रुपैयाँ बैंक व्यालेस हुँदा पनि उनले ऋण देखाएका छन् ।

सरकारी बैंकमा ८५ लाख ऋण छ अर्थमन्त्रीको
अर्थमन्त्री डाक्टर टकराज गुरुङले राष्ट्रिय वाणिज्य बैंकबाट ८५ लाख रुपैयाँ ऋण लिएका छन । आफ्नो पैतृक सम्पतिबाट लमजुङमा र काठमाडौंमा घर देखाएका छन ।
उनकी श्रीमती प्रतिमा गुरुङको नाममा काठमाडौँको बल्खुमा ९ आना जग्गा र एउटा घर छ भने लमजुङको राइनासमा ७ रोपनीभन्दा बढी जग्गा र घर छ ।

लमजुङ सुन्दरबजारमा ४२ आना जग्गा छ भने सोही ठाउँमा प्रतिमा गुरुङको नाममा १० आना जग्गा छ । आफूसँग १० तोला सुन र १० तोला चाँदी रहेको मन्त्री गुरुङले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनीसँग २ वटा बैंकमा ३५ हजार रुपैयाँ मौज्दात छ । आफू र श्रीमतीसँग गरी जम्मा २ वटा गाडी रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

छोराबुहारीको कमाइबाट स्वास्थ्यमन्त्रीले बनाए चन्द्रागिरिमा घर

स्वास्थ्यमन्त्री कृष्ण पाठकको काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ५ आनामा बनेको १ तले घर छ । विदेश गएका छोरा बुहारीको आम्दानीबाट उक्त किनेको उल्लेख गरेका छ ।
मन्त्री पाठकसँग सुन ८ तोला, चाँदी २० तोला रहेको छ । बागलुङ नगरपालिका–१२ मा ६ रोपनी १४ आनामा बनेको घरजग्गा छ । सोही ठाउँमा तीन कित्तामा उनको जग्गा पनि छ ।

ऊर्जामन्त्रीको काठमाडौँमा घर
ऊर्जामन्त्री फणीन्द्र देवकोटासँग गोरखा र काठमाडौँमा घर छ । रुक्मणि कुमारी शर्माको नाममा किर्तीपुरमा ६ आनामा बनेको साढे दुइ तले घर पैतृक सम्पत्ति बकस पत्रबाट प्राप्त भएको जग्गामध्ये ९ आना बेचेर बनाइएको खुलाएका छन् ।

यस्तै, गोरखाको पालुङटारमा बण्डा नभएको २ वटा घर छ । सोही ठाउँमा विभिन्न कित्तामा जग्गा छ । मन्त्री देवकोटासँग १२ तोला सुन छ भने ४ लाख हाराहारी रकम बैंकमा छ । उनले जग्गा किन्नका लागि साढे ३ वर्ष पहिले आफूले ६७ लाख रुपैयाँ बैना दिए खुलाएका छन ।

पर्यटनमन्त्रीसँग ५ रोपनी धानखेती
उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले धानखेती गर्ने पाँच रोपनी क्षेत्रफल रहेको खुलाएका छन । पर्वतका बस्याललले मुक्तिनाथ विकास बैंंकबाट एक करोड रुपैयाँ ऋण लिएका छन । पर्वतबाहेक रुपन्देहीको बुटवलमा उनको जग्गा छ ।

पर्वतको पैयुँ ५ र बुटवलमा गरि करिब २१ रोपनी जग्गा रहेको उनले खुलाएका छन ।दाइजोमा पाएको आठ तोला सुन उनीसँग छ । पैंयुमा २ रोपनी १५ आना जग्गा र घर छ। १ लाख रुपैयाँ उनको बचत छ । उनको अन्नपूर्ण भेट सप्लायर्स पनि छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->