बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रवि लामिछानेलाई छठपछि बुटवल लैजाने तयारी

रवि लामिछानेलाई छठपछि बुटवल लैजाने तयारी

रूपन्देही प्रहरीले गर्‍यो कास्की प्रहरीमा पत्राचार


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८१, सोमबार
फाइल तस्विर

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लैजाने तयारी गरेको छ । उनी कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानकै क्रममा कास्की प्रहरी हिरासतमा छन् ।

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिएको थियो । तर, तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् । मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि बुटवल लैजाने प्रहरीको तयारी छ ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैंयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ अनुमति दिएको थियो । प्रहरीले अदालतको त्यही अनुमतिअनुसार अनुसन्धानका लागि बुटवल लैजाने तयारी गरेको हो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतको अनुमतिअनुसार रूपन्देही पठाइदिन रूपन्देही प्रहरीले एक साताअघि नै पत्राचार गरिसकेको छ । त्यही पत्र अनुसार छठ पर्व सकिएपछि बुटवल ल्याउने तयारी भइरहेको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए । ‘उहाँ अहिले पनि अनुसन्धानकै प्रक्रियामा हुनुहुन्छ, अदालत खुल्नासाथ म्याद थप हुन्छ होला,’ उनले भने, ‘छठ पर्व सकिएपछि यहाँ ल्याउने तयारी हाम्रो पनि छ ।’

कास्की अदालतबाट म्याद थप नभएको अवस्थामा कास्की प्रहरीको समन्वयमा रूपन्देही ल्याएर अनुसन्धान गर्न पनि सकिने उनले बताए । मंगलबार अदालत खुलेपछि कहिले ल्याउने भन्ने टुंगो लाग्ने उनले बताए । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन् । बञ्जाडेको भने यस अघि नै बुटवल ल्याएर बयान सकेर कास्की आईसकेका छन ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उप महानगरपालिका-९ राजमार्ग चौराहा कार्यलय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ । २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेका छन् । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैंयाँ ऋण लिएको देखिएको छ । उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैंयाँ ऋण लिएको देखिएको छ । लामिछाने र बञ्जाडे दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->