
दमौली / पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक खण्डको काम थपिएको समयमा पनि पूरा नहुने भएको छ । पूर्वी खण्डको आगामी फागुनसम्म र पश्चिम खण्डको मंसिरसम्म म्याद थप गरिए पनि उक्त अवधिमा काम नसकिने आयोजनाले जनाएको हो । हालसम्म पूर्वी खण्डको ६८ प्रतिशत र पश्चिम खण्डको ३१ प्रतिशत मात्र काम सकिएको छ ।
३ वर्षभित्र सडक निर्माण गरी हस्तान्तरण गर्ने गरी राजमार्गको पूर्वी खण्ड (आँबुखैरेनी-जामुने) २०७७ माघ १७ मा र पश्चिम खण्ड (जामुने-पोखरा) २०७८ जेठ २ मा सरकार र ठेकेदारबीच सम्झौता भएको थियो । तर सरकारले समयमै ‘लाइन क्लियर’ नगरिदिँदा र ठेकेदारले कामको गति नबढाउँदा राजमार्ग विस्तार कार्यले पूर्णता पाउन सकेको छैन ।
२०८१ वैशाखसम्म काम सक्ने गरी चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको थियो । तर, तोकिएको अवधिभित्र काम नसकिएपछि २०८१ फागुन १ सम्मका लागि म्याद थपिएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनको दाबीअनुसार यस खण्डको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत छ ।
यस्तै, २०८१ भदौसम्म काम सक्ने गरी चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले जामुने-पोखराको काम ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ लागतमा सक्ने गरी सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण पक्षले काम अगाडि बढाउन नसक्दा २०८१ मंसिर महिनासम्मका लागि म्याद थपिएको थियो । यो अवधिमा समेत काम सक्ने अवस्था नरहेकाले पुनः दोस्रो पटक म्याद थप्न निर्माण पक्षले प्रक्रिया अगडि बढाएको पश्चिम खण्डका इन्जिनियर नारायण पौड्यालले बताए । उनका अनुसार यस खण्डमा हालसम्म ३१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।





