पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालिन संचालक एवं नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई आज मंगलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने भएको छ ।
लामिछाने कात्तिक २ गते र जोशी असोज ६ गते पक्राउ परेका थिए । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै सोही कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
अनुसन्धान नसकिएकाले मंगलबार अदालतसमक्ष थप म्याद माग्ने कास्की प्रहरीका डिएसपी बसन्तकुमार शर्माले बताए । अन्य आरोपमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सकिने भए पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ९० दिन र संगठित अपराधमा ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ ।





