काठमाडौं / सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन दुई दलिय संयन्त्र गठन गरेका छन् ।
एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी आठ सदस्यीय संयन्त्र गठन गरिएको छ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल रहेका छन ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन ।
यसैगरी, प्रदेशमा तीन तीन जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई दुई जना रहने गरी संयन्त्र बनाइने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।





