मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङका स्थानीय तहमा चार महिनामा १० प्रतिशत पनि योजना सम्झौता भएनन्

बागलुङका स्थानीय तहमा चार महिनामा १० प्रतिशत पनि योजना सम्झौता भएनन्

अघिल्ला दुइ वर्ष भदौ र असोजमै ८० प्रतिशतभन्दा धेरै योजना सम्झौता गरेर चर्चा कमाएको बागलुङ नगरपालिकाले यो वर्षको रातो किताब समेत असोजको अन्तिममा मात्रै ल्याएको हो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८१, शनिबार

बागलुङ/पटक पटक लोकप्रियताका नारा लगाएपनि स्थानीय तहले समयमा योजना सम्झौता गर्न सकेका छैनन् । जसका कारण असार मसान्तमा हतारमा काम गर्ने र बजेट सक्ने प्रवृत्ति बढेर गएको छ ।
चालु वर्षको चार महिना बित्नै लाग्दा पालिकाहरुले १० प्रतिशत पनि योजना सम्झौता गर्न नसकेका हुन् । चार महिनामा नगन्य योजनाको मात्रै सम्झौता भएको छ ।
सदरमुकाम कै बागलुङ नगरपालिकाले ८ सय ८३ योजनामा अहिलेसम्म ९१ वटा मात्रै सम्झौता गरेको छ । यो १० प्रतिशत मात्रै हो । अघिल्ला दुइ वर्ष भदौ र असोजमै ८० प्रतिशतभन्दा धेरै योजना सम्झौता गरेर चर्चा कमाएको नगरपालिकाले यो वर्षको रातो किताब समेत असोजको अन्तिममा मात्रै ल्याएको हो । प्राविधिक कारण भनेपनि नगर परिषदबाट पारित भएका योजनाको काम थाल्न ढीलाई भएको हो ।
त्यसो त अन्य स्थानीय तहको पनि हालत उस्तै छ । सरासर काम गर्ने गरेको ताराखोलाले पनि यो वर्ष भने १७ वटा योजना मात्रै सम्झौता गरेको छ । यहाँ २ सय योजना छन् । बडिगाड गाउँपालिकाले २ सय ८० योजनामा १३ वटा मात्रै सम्झौता गरेको छ । काठेखोला गाउँपालिकाले पनि ४ सय ६ योजनामा ४५ वटा मात्रै सम्झौता गरेको हो । निसीखोलामा २ सय ८० योजनामध्ये १३ वटा मात्रै सम्झौता भएको रेकर्ड छ ।
यी तथ्यांकले असार लागेपछि मात्रै काम गर्ने प्रवृत्ति देखाएको छ । असारे विकासका कारण सडकहरु पहिरो जाने र विपत निम्तने गरेको छ । ‘सडक मात्र होइन, अन्य पूर्वाधारका काम पनि वर्षात शुरु भएपछि गर्दा पुरा नहुने समस्या छ’ जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ शर्माले भने, ‘बाढीपहिरो मात्र होइन, समयमा काम नसक्दा भुक्तानीको पनि उत्तिकै समस्या पर्छ ।’ असार मसान्तमा भुक्तानी नपाएको गुनासो बढी आउने गरेको उनले बताए ।
पदमार्गदेखि पर्यटन प्रवद्र्धनका क्रियाकलाप, स्वास्थ्य चौकी भवनदेखि सिंचाइ योजना समेत असार मसान्तमा गर्दा कामदार नपाउने, वर्षातले ढुवानीमा सास्ती हुने गरेको उपभोक्ता समितिका पदाधिकारी नै बताउँछन् । ‘समयमा काम गर्न नसक्दा वर्षातले ढुवानीमा समस्या भएर गत वर्षको काम पुरा गर्न सकिएन’ पर्यटकीय ब्लुहिल निर्माण समिति बानपा ९ का सदस्य मिना जिसीले भनिन्, ‘पानी नपर्दै काम सकिएपो भुक्तानी लिन पनि सहज हुन्छ, काम पनि भरपर्दो हुन्छ ।’ कार्यालयले समयमा स्टिमेट नबनाउने, उपभोक्ता पनि समयमा नतात्ने प्रवृत्ति अन्त्य नहुँदा यो समस्या भएको हो ।
कतिपय योजना असार १५ गतेसम्म पनि सम्झौता गर्ने प्रवृत्तिले विकासे योजनाहरु अलपत्र पर्ने, बजेट फ्रिज हुने र आगामी वर्ष निरन्तरता पाउन नसक्ने गरेका छन् । सशर्त बजेटका योजनादेखि नगरपालिकाको आन्तरिक बजेटका योजनामा पनि यो समस्या देखिएको हो ।
त्यसो त सरकारी अन्य कार्यालयले गरेको योजना पनि उत्तिकै ढीलाई हुने गरेका छन् । खानेपानी, सिंचाइ, भवन निर्माण तथा पूर्वाधार कार्यालयले समेत वर्षात लागेपछि मात्र काम गर्ने गरेका छन् । कतिपय योजना अलपत्र परेका छन् ।
असार लागेपछि ठेक्का लगाएर आगामी वर्षलाई योजना सार्ने काम समेत भएकोले जिल्लाका धेरै योजना अलपत्र परेको भन्दै समयमा काम सक्न जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले निर्देशन दिए । ‘काम समयमा गर्नुहोस्, तब मात्र समयमा सकिन्छ’ थापाले भने, ‘समय घर्केपछि गर्दा कामको गुणस्तर भएको छैन ।’ समयमा काम सकेका योजनाहरु गुणस्तर मापदमा पनि अब्बल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->