बागलुङ/नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको दोस्रो साधारण सभा आगामी मंसिर २२ गते बागलुङ बजारमा हुने भएको छ । शुक्रबार बागलुङ बजारमा बसेको कार्यसमितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।
नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालको प्रमुख आथित्यतामा बसेको बैठकले साधारण सभाको लागि प्रगति प्रतिवेदन महासचिव गोकुल कँडेललाई र आर्थिक प्रतिवेदनको लागि कोषाध्यक्ष मनकाजी विश्वकर्मालाई जिम्मेवारी प्रदान गरेको छ ।
बैठकले साधारण सभा सम्पन्न गर्न विभिन्न उपसमितिहरु निर्माण गरेको छ । बैठकले सदस्यता वितरण अभियान सञ्चालन गर्ने, सबै पालिकाहरुबाट प्रतिनिधि र पर्यवक्षेक छनौट र पालिकाहरुमा साधारण सभा आयोजन गरेर नयाँ कार्यसमिति निर्माण गर्ने, महिला व्यवसायीहरुलाई संगठित गरी आय आर्जनको कार्य गर्ने, कर, भ्याट, वस्तुको गुणस्तर सम्बन्धी अभिमुखीकरण, वित्तीय संस्था र तीन तहको सरकारबाट उद्योगी व्यवसायीहरुले पाउने सेवा सुविधाबारे जानकारी दिन तालिम समेत आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष चोखालले व्यापार संगठनको नेतृत्व मुख्यत साना, मझौला उद्योगी र आम व्यवसायीको हितमा क्रियाशिल हुनुपर्ने बताए ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष प्रकाश पौडेलको स्वागत र महासचिव गोकुल कँडेलको सञ्चालनमा सम्पन्न भएको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र बागलुङका संयोजक राजिव घिमिरेले व्यापार सगठनको नेतृत्वले आम उद्योगी व्यवसायीको समस्या पहिचान गरी मनोबल उच्च हुने गरि काम गर्नुपर्ने धारणा राखेका थिए ।





