काठमाडौं / नेकपा एमालेले मानव तस्करीमा मुछिएका आफ्ना पार्टीका नेता तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि कोशी प्रदेश कमिटीले गरेको कारबाही अनुमोदन गरेको छ।शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले अधिकारीलाई निलम्बन गर्ने प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
ुलिलावल्लभ अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको छ। त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोशी प्रदेश कमिटीले उहाँलाई पार्टीका सबै जिम्मेवारीहरू र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने निर्णय गरेको छ। त्यो निर्णयलाई अनुमोदन गर्दै उहाँलाई सबै खालका जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ,ु बैठकको निर्णय सुनाउँदै उपमहासचिव ज्ञवालीले भने।
ती आरोपहरूबारे बस्तुनीष्ठ, तथ्यपरक र गम्भीर छानबिनमा सरकारले गर्ने र त्यसमा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग हुने प्रतिबद्धता पनि बैठकबाट भएको उपमहासचिव ज्ञवालीले बताए।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार विज्ञप्ती जारी गरी अधिकारीलाई पार्टीका सबै पदबाट मुक्त गरी महाधिवेशन प्रतिनिधि परिषद तथा संगठित सदस्यबाट समेत निलम्बन गरिएको जानकारी दिएका थिए।
प्रदेश कमिटीले पनि मन्त्री अधिकारीको भ्रमणसंग जोडिएर लागेको मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप छ।
अधिकारी कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए। तर त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो।
डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए। जापानले डिपोर्ट गरेका तीन जना अहिले प्रहरी हिरासतमा छन्। उनीहरुको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन्।
पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझेको प्रहरीलाई बताएका छन्। डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले मन्त्रालयको नक्कली परिचय पत्रसमेत बरामद गरेको थियो।
जसमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको नै हस्ताक्षर छ। यसबाट अधिकारी मुख्यकर्ता रहेको बुझ्न सकिन्छ। यसबारे चौतर्फी आवाज उठ्न थालेपछि एमालेले शनिबार उनलाई पार्टीको कुनैपनि तहमा रहन नपाउनेगरी कारबाही गरेको हो।
बैठकले बर्तमान सरकारले चार महिनामा ठिक ढंगले काम गरेको निष्कर्ष पनि निकालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । दुई राजनीतिक दलबीचको सम्बन्धलाई थप प्रगाढ र कामलाई अझै प्रभावकारी बनाउन संयन्त्र समेत बनाइएको अवस्थामा विश्वासको वातावरण सुदृढ बनाउँदै लैजानुपर्नेमा बैठकमा जोड दिइएको उनले बताए ।
प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नेबारे पनि बैठकमा छलफल गरिएको ज्ञवालीले जानकारी दिए । आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका निम्ति सिफारिस भएर आएका पार्टी उमेदवारको नाम एमाले सचिवालय बैठकबाट अनुमोदन गरिएको छ । उपनिर्वाचनमा एमालेको विजयका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन पार्टीका नेता–कार्यकर्तालाई बैठकबाट आह्वान गरिएको ज्ञवालीले बताए ।
यी हुन् एमालेका उम्मेदवारहरु
कीर्तिपुर नगरपालिका मेयर– सुरेन्द्र मानन्धर
मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष– तुलसीराम विश्वास
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्ष– उमा लुङ्गेली शेर्पा
लुम्बिनीको रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष– केस कुमारी तुला
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख– सुनिता बोहोरा
बाजुराको स्वामी कात्र्तिक फापर गाउँपालिकाको उपाध्यक्ष– सुलोचना कुमारी भण्डारी बोहोरा
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष– जाना शाही
‘केही ठाउँमा निर्णय हुन बाँकी छ। त्यसको अख्तियारी सम्बन्धित प्रदेश कमिटीलाई दिएका छौँ। एक दुई दिनमा निर्णय हुन्छ,’ बैठकपछि उपमहासचिव ज्ञवालीले भने।





