बागलुङ/एक हजार पर्यटकलाई बागलुङका विभिन्न स्थानमा भ्रमण गराउने गरी लायन्स क्लब डिस्ट्रिक्ट ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठक बागलुङमा हुने भएको छ ।
कात्तिक ३० र मंसिर १गते बागलुङ बजारमा हुने क्याबिनेट बैठकले पर्यटन प्रवद्र्धन तथा लायन्सका सामाजिक गतिविधिबारे जानकारी दिने र सामाजिक क्षेत्रका केही परियोजना संचालनमा पनि पहल हुने बताइएको छ । बागलुङको पर्यटकीय विकास र यहाँका धार्मिक तथा साँस्कृतिक क्षेत्रको चिनारी गर्न पनि यो बैठक उपयोगी हुने विश्वास लिइएको छ । बैठकमा भाग लिन देशभरका १ हजार बढी लायन्स सदस्यहरु सहभागी हुनेछन् ।
सहभागीहरुले ढोरपाटन, पञ्चकोट, शालीग्राम संग्राहलय तथा कालीका मन्दिर र लामो पुलको अबलोकन तालिका समेत बनाइसकेका छन् । ‘केही साथीहरु दुई तीन दिनअघि नै आएर ढोरपाटन पुग्ने तयारीमा हुनुहुन्छ,’ एरिया मेन्टर नरेश कंडेलले भने, ‘पर्यटनबाहेक सामाजिक कामको परियोजना तयार पनि गरिनेछ ।’ जिल्लाका १० वटै पालिकाका धार्मिक, प्राकृतिक, सास्कृतिक र पर्यटकीय सम्पदाको प्रचार प्रसार गरिनेसमेत उनले बताए ।
बैठकका लागि आकस्मिक स्वास्थ्य सेवा, यातायातको व्यवस्थापन, आबास तथा भोजनको व्यवस्थासमेत तयारी भएको बताइएको छ । त्यसका लागि विभिन्न १३ वटा उपसमिति गठन भएको छ । शनिवार प्रचारप्रसार समितिका संयोजक गणेशराज लम्साल नेतृत्वको समितिले पत्रकार सम्मेलन गरेर बैठकबारे जानकारी दिएको हो । नेपालमा रहेका बिभिन्न क्लब र डिस्ट्रिक्टमध्ये जे अन्तर्गत २ हजार ९ सय ९१ क्लब रहेका छन् । धौलागिरि क्षेत्रमा मात्रै २१ वटा लायन्स क्लब जे अन्र्तगतकै क्रियाशिल रहेका छन् ।
कार्यक्रममा लायन्स क्लब ३२५ जे की गर्भनर मिलन थापाले लायन्समार्फत् अन्तर्राष्ट्रिय परियोजना भित्र्याउने, दृष्टिविहीनलाई उज्यालो संसार देखाउने, स्वास्थ्य शिविर, खानेपानी, सरसफाइलगायतका गतिविधिमा पनि काम गर्ने लक्ष्य सुनाइन् ।
पत्रकारको जिज्ञाशाको जवाफमा उनले वैदेशिक यात्रामा पनि सहज वातावरण बनाउन लायन्स सहयोगी भएको बताइन् । प्रचार समितिका संयोजक गणेशराज लम्सालको अध्यक्षता, सदस्य सचिव उमेश गौतमको संचालनमा सम्पन्न कार्यक्रममा पूर्वगर्भनर धु्रब थापा, लायन्स लिडरहरु नरेश कंडेल, चन्द्रराज रेग्मीलगायतले मन्तव्य राखेका थिए ।





