पोखरा/पोखरा महानगरपालिका वडा नं. १७ छोेरेपाटन, भयरथानमा रहेको महिला जागरण केन्द्रको २६ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनले सकुन्तला गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
केन्द्रको उपाध्यक्षमा दुर्गा बराल, सचिवमा शोभा विश्वकर्मा, सहससचिवमा सुनु तामाङ, कोषाध्यक्षमा उर्मिला भुजेल र सदस्यहरुमा देबु वस्याल, शशी आले, विन्दु केसी, सविना राना, सावित्री बराल, विष्णु पहारी र विजय बराल सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्दै नेपाली जनताले पहिलेभन्दा धेरै अधिकार पाएको बताउँदै प्रेदश सरकारलाई केन्द्रबाट आउने कम बजेटको कारण जनतालाई प्रदेश सरकारले काम गरे जस्तो नलागेको जिकिर गरे ।
संविधान सभा सदस्य बिन्दा रानाले संस्था स्थापना कालदेखि हालसम्मको विकासको बारेमा जानकारी दिँदै भवनमा धेरै काम गर्नुपर्ने भएकोले आफ्नो परिवारको तर्फबाट खानेपानी टंकी र टंकी राख्ने स्टाण्ड बनाइदिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
सो अवसरमा दुर्गा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, पोखरा १७ का वडा सदस्य विक्रम गुरुङ, नेपाली कांग्रेस वडा नं १७ का सभापति देवराज आचाय, भयरथान टोल बिकास संस्थाका अध्यक्ष सुरजप्रकाश भुजेल, सिद्धार्थ राजमार्ग आमा समुह अध्यक्ष दुर्गा बराल, समाजसेवी चिन्तामणि शर्मालगायतले वोलेका थिए ।
केन्द्रकी सचिव मनकुमारी गुरुङले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शोभा बिश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थापक अध्यक्ष माया गुरुङलगायत संस्थापक पदाधिकारी तथा सदस्यहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष सावित्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मनकुमारी गुरुङले गरेकी थिइन् ।





