बागलुङ-कोरोना महामारीको समय थियो । विद्यालय बन्द थिए । गाउँघरमा समेत कोही घर बाहिर निस्कने अवस्था थिएन् । घरछेउको पुख्र्यौली बारी बाँझो भएको धेरै वर्ष भैसकेको थियो । बनमारा र कुकाठले भरिएको बारी के गर्ने भन्ने सोचिरहेका थिए गोविन्दले । घरमै बसिरहेका बेला उनलाई एकाएक फलफुल खेतीको विचार पलायो ।
सोही समयमा उनले बाँझो बारी र खरबारीको झाडी फाँडेर किबी रोप्न थाले । खरुवा माध्यमिक विद्यालय गल्कोट नगरपालिका–४ ओखरबोटमा कार्यरत शिक्षक गोविन्द प्रसाद शर्मा अहिले शिक्षक मात्रै होईनन्, नमुना कृषक पनि बनेका छन् । उदाहरणीय कृषकको परिचय बनाएका छन् उनले । विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबी खेतीले उनलाई केही वर्षमा नै मालामाल बनाएको छ ।
शिक्षणसँगै सानोतिनो होटल व्यवसाय गर्ने शर्माको कोरोनाकालमा व्यवसाय चौपट थियो । त्यहिबेला होटल बन्द गरेर बाँझोबारी कोतर्ने योजना बुनेका गोपाल अहिले त्यहिं बारीमा फलेको किबीबाट लाखौं घर भित्राउने तयारीमा छन् ।
उनले विद्यालयबाट बचेको समय सदुपयोग गरेर किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको हो । अहिले शर्माको बगैचामा ३० हजार किलो किबी फलेको छ । सरल कृषि फर्ममार्फत शर्माले सरल डेलिसियस किबी उनले बजारमा उपलब्ध गराएका छन् ।
२०७८ सालमा बरास्थान किबी उत्पादन समूहमार्फत उनले किबी खेती सुरु गरेका थिए । अहिले समूह भने सक्रिय छैन । किबी खेतीका लागि गल्कोट नगरपालिकाले बिरुवा उपलब्ध गराएको थियो । दश रोपनी जग्गामा १ सय ५० बोट किबी खेती गरेका शर्माले बिरुवा सारेको तीन वर्षमा नै लगानी उठाएका थिए ।
‘सुरुमा समूहमार्फत बाँझो जग्गा फँडानी गरेर किबी खेतीको योजना बनाएका थियौँ । त्यसमा गलकोट नगरपालिका र कृषि ज्ञान केन्द्र बागलुङको पनि सहयोग भयो’ उनले भने ‘म विद्यालयमा ब्यस्त रहन्थे तर किबी व्यवस्थापन बगैँचाको लागि मेरो जीवनसंगिनी शर्मिला शर्मा खट्नुभयो । अहिले खटाई अनुसारको प्रतिफल आउँदा हामी खुसी छौँ ।’
उनको किबी अहिले स्थानीय बजारदेखि देशका ठुला शहरमा बिक्री भैरहेको छ । प्रतिकिलो ३०० देखि ४ सय ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । बाँझो बारीमा अहिले किबीको बगान देखेर गोपाल आँफै दंग पर्छन् । उनले लगाएको किबी देखेर सिको गर्नेहरु पनि छन् । किबीबाहेक अरु २० रोपनी जग्गामा रहेको झाडी फडानी गरेर शर्माले ओखर खेती पनि गरेका छन् । केही वर्षपछि उनको बारीमा बजार मुल्य राम्रो रहेको ओखर पनि फल्नेछन् । प्राथमिक तह द्वितीय श्रेणीमा कार्यरत शिक्षक शर्मा कृषकहरूका प्रेरणाका स्रोत बनेका छन् ।





