पोखरा / इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आज पोखरा ल्याइएको छ। इमेज सहकारीको झण्डै ६८ करोड रुपैयाँ ठगीको आरोप लागेकाले मेयर नेपालीलाई थप अनुसन्धानका लागि आईतवार विहान पोखरा ल्याइएको हो। पूर्पक्षका लागि बागलुङ कारागार रहेका नेपालीलाई म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ।
पोखराको सिर्जनाचोकमा रहेको इमेज सहकारीका ५ सय २४ जना वचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् । उनी इमेजका संस्थापक अध्यक्ष हुन् । २०८० सालको वैशाख ७ गते तरलता अभाव भएको भन्दै सहकारीको बागलुङ कार्यालय बन्द भएपछि उनी जेठ ५ गतेदेखि फरार थिए । नेपाल सरकारले सहकारीको वचत रकम फिर्ता गर्दै उजुरीकर्तासँग मिलापत्र गरेमा सजाय मिनाह हुने भनेपछि उनलाई एकाएक प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । असोज १३ गते बागलुङ पु¥याइएका उनलाई जिल्ला अदालत बागलुङले थुनामा राखेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।
नेपालीविरुद्द बागलुङका १ हजार ५ सय ४३ जना बचतकर्ताले एक अर्ब ३८ करोड ११ लाख ६२ हजार सात सय ५५ रुपैयाँ ठगेको उजुरी दिएका थिए । प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् सो रकमको बिगो भराई पाऊँ भनी उच्च अदालत बागलुङसमक्ष माग गरेपछि अदातलले उनलाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको थियो । बागलुङ प्रहरीले उनीसँग वयान सकेको र पोखरामा पनि नेपालीविरुद्द उजुरी परेकाले थप अनुसन्धानको लागि यता ल्याउन लागिएको उनको वकिल राम शर्माको भनाइ छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछाने, पूर्व डीआईजी छविराज जोशी, लीला पछाईं र रामकुमार खनालसँगै मेयर नेपालीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ। लामिछानेसहित ४ जनालाई अदालतमा लगिसकिएको छ भने नेपालीलाई लैजाने तयारी भइरहको छ। उनीहरू सहकारी ठगी प्रकरणका अभियुक्त हुन्।





