बागलुङ/मानवअधिकार तथा शान्ति समाज बागलुङको २७ औं वार्षिक साधारण सभाले फडिन्द्र आचार्यको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार भएको साधारणसभाले आचार्यसहित ११ सदस्य रहेको समिति निर्विरोध चयन गरेको हो ।
समाजको उपसभापतिमा हुमा रिजाल, सचिवमा नवराज नेपाली, सह–सचिवमा सबिता ज्ञवाली र कोषाध्यक्षमा अस्मिता गौतम चयन भएका छन् । सदस्यहरुमा राजेन्द्र आचार्य, इश्वर ठाकुर पौडेल, गंगा शर्मा रिजाल, यशोदा शर्मा चयन भएका छन् । त्यस्तै द्वन्द्वपीडित महिलाको तर्फबाट पवित्रा खड्का र रिता केसी समेत सदस्यमा चयन भएका हुन् ।
साधारणसभाको उद्घाटन गर्दै केन्द्रीय प्रतिनिधि तीर्थराज न्यौपानेले संस्थाहरुमा पारदर्शीता, नागरिकको राजनीतिक अधिकार तथा शान्ति र लोकतन्त्रका लागि शान्ति समाजले निरन्तर खबरदारी गर्ने बताए । उनले शान्ति स्थापना कालमा शान्ति समाजको भूमीका कमजोर देखिएपनि अप्ठ्यारोमा यो महत्वपूर्ण हुने बताए ।
शान्ति समाजका सभापति निलकण्ठ शर्माको अध्यक्षता, सचिव फडिन्द्र आचार्यको संचालन र उपसभापति कमला चापागाईको स्वागतमा सम्पन्न कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, समाजका पूर्व अध्यक्षहरु भूमिश्वर गौतम, हरि शर्मा हरिस लगायतले शुभकामना मन्तव्य राखेका थिए ।





