बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विराटनगर घरबाटै पक्राउ परेका एमाले सांसद अधिकारीलाई काठमाडौं प्रहरी परिसरमा लगियो

विराटनगर घरबाटै पक्राउ परेका एमाले सांसद अधिकारीलाई काठमाडौं प्रहरी परिसरमा लगियो


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८१, आइतबार

काठमाडौं / नक्कली कागजात बनाएर मानव तस्करीको आरोपमा अनुसन्धानका लागि कोशी प्रदेशका निवर्तमान मन्त्री तथा एमाले सांसद लीलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् ।

अदालतबाट अनुमति लिएपछि उनलाई आइतबार उनको घरबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारीलाई आइतबार अपराह्न काठमाडौं ल्याइएको हो।

प्रहरीले उनलाई विराटनगरबाट यति एयरलाइन्सको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएको हो। विमानस्थलबाट उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ।

अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ। एमाले कोशीले उनलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ भने शनिबारको सचिवालय बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो।

अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए। तर त्यहाँको अध्यागमनले अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो।

डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए। जापानले डिपोर्ट गरेका तीन जना अहिले प्रहरी हिरासतमा छन्। उनीहरुको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन्।

पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझेको प्रहरीलाई बताएका छन्। डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले मन्त्रालयको नक्कली परिचय पत्रसमेत बरामद गरेको थियो। जसमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको नै हस्ताक्षर छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->