काठमाडौं/गण्डकी प्रदेशसभा सदस्य वं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) मंगलबार बिहान पक्राउ परेका छन् । प्रहरीले गुरुङलाई काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले उनीविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दामा यही कात्तिक २० गते दोषी ठहर गर्दै ५ वर्ष कैद सजायको फैसला गरेको थियो ।
२०६१ सालमा चक्रे मिलन भनिने मिलन गुरुङमाथि सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको मुद्दा उनीमाथि लागेको थियो । उक्त मुद्दामा उच्च अदालत पाटनको ५ वर्ष कैद सजायकाे फैसला अनुसार केही समय उनी कारागारसमेत बसिसकेका छन् । सर्वोच्चले उच्चकै फैसला सदर गरेको हो ।
२०७९ को प्रदेश सभा निर्वाचनमा मनाङे मनाङ जिल्लाको प्रदेश सभामा ‘ख’ स्वतन्त्र उम्मेदवार थिए । उनी निर्विरोध निर्वाचत भएका हुन् । पछि माधव नेपाल नेतृत्वको नेकपा एस प्रवेश गरेका उनले केही समयमै उक्त पार्टीसमेत परित्याग गरेका थिए । मनाङे पहिलो प्रदेश सभा र दोस्रोपटकको कार्यकालमा गण्डकी प्रदेशको ६ पटक मन्त्री भइसकेका छन् ।





