पोखरा/आइतबार चौथोपटक रवि लामिछानेमाथि अनुसन्धानको लागि १३ दिनको म्याद थप गरिएको छ । उनी कात्तिक ३ गतेको बिहानदेखि निरन्तर कास्की प्रहरीको हिरासतमा छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएसँगै सबैको ध्यान कास्की तर्फ केन्द्रित छ । लामिछाने देशको चौथो ठुलो संसदीय दलको सभापति समेत रहेको हुँदा कास्की राजनीतिक रुपमा पनि केन्द्रमा नै छ ।
उनै लामिछानेलाई २५ दिनदेखि प्रहरीले हिरासतमा राख्दा उनको दैनिकी कस्तो छ भन्ने आम चासो पनि छ । हिरासतमा रविले के गर्छन, उनको स्वास्थ्यावस्था कस्तो छ, उनले कसरी दिन कटाइरहेका छन, यस चासोलाई सम्बोधन गर्न हामीले हिरासतमा नै लामिछानेलाई केही बेर भेटेका थियौँ ।
लामिछानेलाई भेट्न कडा सुरक्षा प्रबन्ध पार गरेर जानुपर्ने हुन्छ । जिल्ला प्रहरी कार्यालय कास्कीको गेटमा नै भेट्न जानुभन्दा अगाडि नामसहित लामिछाने र रास्वपासँगको सम्बन्ध खुलाउनुपर्ने हुन्छ । गेटभित्र छिरिसकेपछि साथमा भएका मोबाइल, घडी, चाबी प्रहरीलाई बुझाउनुपर्छ । त्यसपछि शरीर जाँच हुन्छ भने सुरक्षाकर्मीले अनुमति दिएपछि उनीहरुको साथमा नै थुनुवा राखिने हिरासत कक्षमा जान पाइन्छ ।
हिरासत कक्षमा फेरि नाम, नम्बर टिपाएर शरीर जाँच गरेपछि बल्ल लामिछानेलाई भेट्न पाइन्छ । जिल्ला प्रहरी कार्यालयमा आफै सम्पर्क गरेर भेट्न खोज्दा चाहिँ सूचना अधिकारी तथा कास्की प्रहरीका प्रहरी नायब उपरिक्षक वसन्तकुमार शर्माले लामिछानेले कसैलाई भेट्दिन भन्नुभएको छ भन्ने बनावटी जवाफ दिन्छन ।
जबकी हामीले लामिछानेलाई भेट्दा उनले आफूलाई भेट्न खोज्ने कसैलाई रोक्ने आफ्नो स्वभाव नरहेको बताए । “म फिल्डमा मान्छे भेट्ने र समाचार संकलन गर्ने मान्छे हो, मैले कसैलाई भेट्दिन भनेको छैन, त्यो मेरो स्वभाव हैन ।” उनले भने ।
कास्की प्रहरीमा थुनुवा राख्ने भवनको माथिल्लो तलामा छन, लामिछाने । हिरासत कक्षका सुरक्षाकर्मी बस्ने कोठा उनलाई दिइएको छ ।
सुरुमा नै हामीले लामिछानेको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्यौँ । अन्य भिआइपी जस्तो पक्राउ पर्नासाथ अचानक स्वास्थ्य बिग्रिने र अस्पतालमा बस्नुपर्ने अवस्था लामिछानेको छैन । उनी हिरासत कक्षमा पनि फिट एण्ड फाइन नै देखिन्छन ।
उनलाई दिइएको बिस्तारको साइडमा सानो टेबल छ । त्यहाँ छन, कास्की प्रहरीको पुस्तकालयमा भएका बिपी कोइरालाको पुस्तकदेखि उनलाई शुभचिन्तकले लगिदिएका अनेकौँ देशीविदेशी पुस्तकहरु । हामी पुग्दा उनले रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले लगिदिएको पुस्तक पढ्दै गरेको जानकारी दिए । एज अफ रिभोलुसन देखि मुकाम रणमैदान उनको पाठ्यसामाग्रीमा मिसिएका छन ।
उनको कक्षमा जाने जोकोहीले देख्ने दृश्य यिनै हुन । तर, लामिछानेले भित्र के सोचिरहेका छन, त्यो देखिँदैन । उनलै नै महसुस गरिरहेका होलान, देशको गृहमन्त्रीको कुर्सीदेखि हिरासतको सामान्य खाटसम्म आइपुग्दाको अवस्था ।
लामिछानेले बारम्बार सहकारी प्रकरणमा स्पष्टिकरण दिएका छन, चाहे प्रहरी होस, संसदीय छानविन समिति होस वा पार्टीेकै बैठक । उनले आफ्नो अडान चाहिँ छाडेका छैनन ।
उनी स्वस्थ र हँसिलो देखिन्छन । टिभी प्रस्तोता हुँदाको जस्तो चर्को आवाजमा बोल्ने उनको शैली भने अहिले नम्र छ । नम्र भाषामा कुरा गर्छन । कुनै तनाव र दबाब चाहिँ अनुहारमा देखिँदैन ।
“हिरासतको प्रेसर हुने नै भयो, अरु मलाई केही छैन, म देश बनाउन हिँडेको मान्छे हुँ, यो अवस्था आउँछ भन्ने थाहा थियो र म तयार नै थिएँ, मेरा विरुद्ध राज्य लागेको छ ।” उनले भने ।
राज्यको प्रतिशोध सिवाय आफ्नो कुनै गल्ती नरहेको दाबी उनको छ । देशका दुई ठुला दल मिलेर नै आफूलाई सिध्याउन सकिन्छ कि भनेर लागेको उनको तर्क छ । मिडियामा नै छँदापनि आफू पीडितहरुको पक्षमा सदैव पैरवी गर्ने हुँदा आफूले गर्नै नसक्ने संगठित अपराधको मुद्धा लगाइएको उनको भनाई छ ।
लामिछानेमाथि हालसम्म तीनपटक म्याद थप भइसकेको छ । कात्तिक २ गते समातिएका रविलाई अदालतले पहिलोपटक ६, दोश्रोपटक सात दिन र तेश्रोपटकमा १० दिन म्याद थप गरेको छ । लामिछानेकै भनाई अनुसार पछिल्लो समय १० दिन म्याद थप भएतापनि उनको कुनै बयान लिइएको छैन । बयान नलिएतापनि आफूलाई किन हिरासतमा राखिएको छ, उनी आफैलाई थाहा छैन ।
“बयान लिनका लागि केही भए पो, बयानको नाममा अल्मल्याउने काम मात्र भइरहेको छ । पछिल्लो समय म्याद थप गर्दा त एकपटक पनि बयान भएको छैन ।”
२२ दिनमा जम्माजम्मी ७÷८ घण्टामात्र बयान भएको उनले बताए । अदालत लैजाने र म्याद थप मात्र गर्ने काम भएको आरोप रास्वपाले लगाउँदै आएको छ । बयानमा नयाँ कुरा नआएपछि म्याद थप किन भन्ने प्रश्न पनि रास्वपाले उठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बिहान ७ देखि ९ र अपरान्ह ३ देखि ५ बजेसम्म थुनुवालाई भेट्ने टाइमकार्ड बनाएको छ । यही समयमा उनले आफ्ना पार्टीका पदाधिकारी, सदस्य तथा शुभचिन्तकहरुलाई भेटघाट गर्छन । लामिछानेपत्नी निकितादेखि उनी निकट दीपक बोहोरासँग नियमित भेटघाट गर्छन । उनको सचिवालयले शुभचिन्तकहरुलाई भेटघाटको व्यवस्था मिलाउँदै आएको छ ।
बिहान साढे ६ बजेतिर उठ्ने उनको दैनिकी छ । उठेपछि हिरासतभित्रै उनी व्यायाम गर्छन । त्यसपछि शुभचिन्तक भेटघाट गर्छन । हिरासतमा उनले शाकाहारी खानामात्र खाने गरेका छन । साँझ ७ बजेपछि खाना नखाने उनले बताए । दिनमा २ पटक शुभचिन्तकहरुसँग भेटघाटपछि लामिछाने बाँकी समय पुस्तकमा नै बिताउँछन ।
लामिछानेको पार्टी रास्वपा र उसका शुभचिन्तकहरुले लामिछानेलाई अदालतमा उपस्थित गराउने दिन प्रदर्शन गर्दै आइरहेका छन । गत मंगलबार उनलाई अदालतमा लगिँदा उनको पक्षमा भएको प्रदर्शन रोक्न प्रहरीले चार सेल अश्रुग्यास नै प्रयोग ग¥यो लाठीचार्ज समेत हुन पुग्यो ।
लामिछाने आफैले संसदीय छानविन समितिमा पनि र जिल्ला सरकारी वकिलको कार्यालयले लिएको बयानमा आफूले कुनै ठगी नगरेको बारम्बार दोहो¥याउँदै आइरहेका छन ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा भएको अर्बौँ रकम अपचलन प्रकरणमा उनलाई कास्की प्रहरीको अनुरोधमा काठमाण्डौ प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो । रवि लामिछाने कुनै बेला गोर्खा मिडिया नेटवर्कका सञ्चालक थिए । यही नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी फोरके टेलभिजनमा लामिछाने प्रबन्ध निर्देशक थिए ।
सोही संस्थामा पोखराको सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख रुपैयाँ भन्दा बढि रकम गएको विभिन्न वित्तीय अध्ययन प्रतिवेदनले देखाएका छन । सोही रकम चेकमार्फत बाँडफाँट गरेको भनेर लामिछानेलाई संसदीय छानविन समितिको प्रतिवेदनले कारवाहीको भागिदार रहेको ठहर ग¥यो । उक्त प्रतिवेदनकै आधारमा र पोखराका सहकारी पीडितहरुले ०८० माघ २२ गते दिएको पूरक किटानी जाहेरीको आधारमा लामिछाने कास्की प्रहरीको हिरासतमा २२ दिनयता छन ।
उनीमाथि अनुसन्धानको लागि तीनपटक म्याद थप भइसकेको छ । पछिल्लो समय थपिएको १० दिनको म्याद पनि शनिबार सकिएपछि फेरि आइतबार १३ दिनको म्याद थपिएको छ । त्यसपछि फेरि आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराइनेछ । फेरि पनि म्याद थप हुने नहुने विषय आइतबार मात्र टुंगो लाग्नेछ । सम्पत्ति शुद्धिकरण मुद्धामा समेत अनुसन्धान भएको हुँदा उनलाई बढिमा ९० दिनसम्म हिरासतमा राख्न पाइने कानूनी व्यवस्था छ ।





