पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार पोखराबाट रुपन्देही लगिएको छ । बिहान पोखरा बिमानस्थलमा भिजिविलिटी नहुँदा उडान हुन सकेपछि करिब ४ घण्टासम्म विमानस्थलमा रोकिएर साढे १० बजेको समयमा उडान भएको बुद्ध एयरको विमानमार्फत रुपन्देही पठाइएको हो । बिहान पौने ८ बजे उडान तालिका रहेकाले लामिछानेलाई बिहानै पोखरा विमानस्थल पु¥याइएको थियो ।
लामिछानेलाई रुपन्देहीको सरकारी वकिल कार्यालयमा बयानपछि सकेसम्म आजै पोखरा फर्काउने तयारीमा कास्की प्रहरी छ । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा रुपन्देही जिल्ला अदालतले पनि यसअघि लामिछानेसहित १२ जनालाई पक्राउ पूर्जी जारी गरेको थियो । सोही पूर्जी अनुसार उनलाई रुपन्देही पठाइएको हो ।
संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।
पोखरामा प्रधानकार्यालय रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत २ कात्तिकमा काठमाडौंबाट लामिछानेलाई पक्राउ गरी पोखरा ल्याइएको थियो । उनीबिरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भइरहेको छ । उनलाई चारपल्ट अदालत उपस्थित गराई अनुसन्धानका लागि पटकपटक म्याद थप भएको छ । पछिल्लो समय गत २५ कात्तिकमा थप १३ दिनको म्याद थप भएको छ ।





