काठमाडौं/ ज्यान मार्ने उद्योगमा दोषी ठहर भई ५ वर्षको जेल सजाय पाएका गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन । काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार पठाउन आदेश दिएपछि उनलाई चलान गरिएको हो ।
मनाङेलाई सर्वोच्च अदालतले यही कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो । उनले २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेकाले अव बाँकी सजायमा कारागारको बास बस्नु पर्ने छ ।
न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको ज्यानमुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चबाट पनि दोषी ठहर भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।





