बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीमा कांग्रेस–एमालेको राजनीतिक संयन्त्र गठन, जिल्लाजिल्लामा पनि गठन हुने

गण्डकीमा कांग्रेस–एमालेको राजनीतिक संयन्त्र गठन, जिल्लाजिल्लामा पनि गठन हुने


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०८१, मंगलबार

पोखरा/ सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच गण्डकी प्रदेशस्तरीय २ दलीय राजनीतिक संयन्त्र गठन भएको छ । मंगलबार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा संयन्त्रको पहिलो बैठक बसेको छ । कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेसका प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछाने, नेकपा एमालेका प्रदेश इन्चार्ज किरण गुरुङ, पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले प्रदेश अध्यक्ष नवराज शर्माको उपस्थिति थियो ।

केन्द्रको निर्णय अनुसार बसेको बैठकले कांग्रेस र एमाले गण्डकी प्रदेशको राजनीतिक संयन्त्रको बैठकको अध्यक्षता आलोपालो प्रणाली अनुसार संयोजन गर्ने निर्णय गरेको छ । बैठकको व्यवस्थापन जुन दलले अध्यक्षता गर्ने हो सोही दलले गर्ने सहमति भएको छ । यसैगरी प्रदेशभित्रका सबै जिल्लामा संयन्त्र निर्माण गरी कार्य गर्न निर्देशन दिने, २ पार्टी बीचको सहकार्यको आवश्यकतालाई जनसमक्ष पुर्‍याउन र संयुक्त सरकारले गरेका काम र योजनाको पक्षमा जनमत निर्माण गर्न, सरकारले गरेका कामको बारेमा समिक्षा गर्दै आवश्यकता अनुसार सरकारलाई सुझाव दिने, सहयोग गर्ने र सकारात्मक कामको प्रचार–प्रसार गर्ने निर्णय भएको कांग्रेस सभापति शर्माले बताए ।

नेपाली कांग्रेस र नेकपा एमाले बीचमा स्थानीय तहमा कहि कतै विवाद भई समस्या आएमा सम्बन्धित निकायका २ दल बसी तत्काल समस्याको समाधान गरी सहकार्यलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । संविधान र कानुनी राज्यको अवधारणाको विरुद्ध भइरहेको जुनसुकै अराजनीतिक, अराजक गतिविधिप्रति संयत्रले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैठकपछि जारी विज्ञप्तिमा यस्ता गतिविधिहरुलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानुनी राज्यको कार्यान्यवयनको लागि आवश्यक सहयोग गर्न सबै पक्षसँग हार्दिक अपिल गर्ने निर्णय गरिएको जनाइएको छ ।
गण्डकी प्रदेशका विकास निर्माणका कार्य सम्बन्धमा २ दलीय साझा धारणासहित अगाडि बढ्ने निर्णय भएको एमाले प्रदेश इन्चार्ज किरण गुरुङले बताए ।
आगामी बैठक नेकपा एमालेको संयोजनमा नेकपा एमाले गण्डकी प्रदेश कार्यालयमा हुने निर्णय भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->