पोखरा/पोखरा महानगरपालिकाका नगरप्रहरी सन्तबहादुर केसी बुधबार अस्पतालबाट डिस्चार्ज भए । सिर्जनाचोकस्थित मेट्रो सिटी हस्पिटलमा गुप्तांगको शल्यििक्रया गरी आइसीयूबाट निकालेको एक दिन पनि पुरा वित्न नपाउँदै उनलाई डिस्चार्ज गर्दा परिवार नै आश्चर्यमा परेका छन् । अस्पतालमा भर्ना हुनुअघि नै शल्यक्रियापश्चात पनि पाँच दिन जति भर्ना गरेरै राख्नुपर्ने चिकित्सकको सल्लाह थियो । तर, गण्डकी मेडिकल कलेजमा उपचार पछि मेट्रो सिटी पुगेका उनलाई औषधिको डोजसमेत नपुग्दै घर जान भनेपछि चिन्तामा परेका छन् । कारण हो अनावश्यक राजनीतिक दबाब । कात्तिक २० गते एमाले निकट जनप्रतिनिधि र केही एमाले निकट इन्जिनियर महानगर कार्यालय परिसरमा प्रवेश गरेर नगर प्रहरी सन्तबहादुरको गुप्तांगमा प्रहार गरेका थिए । कात्तिक १५ गते बसेको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेपछि त्यसको विरोधमा एमाले जनप्रतिनिधिसहित केही कर्मचारीले महानगर कार्यालयमा धर्ना दिएका थिए । सोही क्रममा मेयरको कार्यकक्षमा प्रवेश गर्न खोज्दा रोकेपछि उनीमाथि प्रहार भएको हो । उक्त समय महानगरमा मेयर र उपमयेर अनुपस्थित थिए । गुप्तांगमा प्रहार भएपछि त्यहीँ ढलेका नगर प्रहरी केसीलाई उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज पुर्याइएको थियो । एक्सरेपछि उनको अण्डकोषमा चोट लागेको देखिएको थियो । पोखरा महानगरपालिकामा करारमा रहेका कर्मचारीहरुलाई हटाउने भएपछि एमाले निकट जनप्रनिधिले विरोध गर्दै असन्तुष्टि जनाएका थिए । सोही क्रममा एमाले निकट जनप्रतिनिधि र कर्मचारीले नै ड्युटि गरिरहेका उनको गुप्तांगमा गम्भिर चोट लाग्ने गरि प्रहार गरेका थिए । प्रहारपछि ढलेका उनलाई उनीहरुले कुट्न भने छाडेका थिएनन् । सन्तबहादुरकी श्रीमतिले आफैले पैसा तिरेर उपचार गराउछु भन्दा समेत अस्पताललाई नै दबाब दिने गरी केही व्यक्तिहरु आएको गुनासो पोखिन् । आफुहरुले उपचार गराउन चाहेपनि अनेकौ दबाबले डिस्चार्ज हुन बाध्य भएको उनले सुनाइन् । ‘लेखेको औषधि चलाउनलाई अवस्था रहेन । अहिले औषधि चढाएको छैन । अप्रेसन गरेपछि पाँच दिनसम्म राख्ने कुरा थियो । हिजो (मंगलबार) मात्रै आइसीयूबाट झारेको हो । आज भोलि राख्ने नै हो केरे,’ उनले भनिन्, ‘पहिला भर्ना नहुँदै भएको कुरा हो । उहाँहरुको दबाब केके हो खै हामीले त बुझ्न नै सकेनौँ ।’
उनका अनुसार सन्त घटना भएको दिन अस्पताल पुगेर घरमा आउँदा कागजसमेत लुकाएका थिए । यसअघि कुनै दिनपनि बिदामा नबसेका सन्तको उपाचारको क्रममा एक रिपोर्ट बाहिर आएपछि त्यो परिवार र अस्पतालको अनुमति बिनै तस्वीर खिचेर सार्वजानिक भएको दाबि समेत गरेका छन् । ‘घरको परिवार सकैलाई पनि थाहा थिएन् । थाहा पाएर फोन गर्दा अफिसमै छु भन्नुभएको अस्पतालमा हुनुहुँदो रहेछ । पछि घरमा आउँदा कार्ड लुकाएर आउनु भएको थियो । के भएको हो भनेर सोध्दा केही भएको छैन ठीकै छु भन्न भ्याउनुभयो,’ उनले सुनाइन, ‘गोजीमा के राख्नुभयो खै भनेर हेर्दा ठूलै चोट लागेको रहेछ । भोलिपल्ट र पर्सि पल्ट पनि त्यहि जिएमसी मै जानुभयो । अप्रेसन गर्नुपर्छ भनेपछि मैले काठमाडौं जाम पनि भनेँ । उहाँ आफैले पोखरामै गर्ने भन्नुभयो । अपे्रसन गरेपछि हुलका हुल मान्छे आए कसैले हामीले पिटेका होइनौ भने कसैले के ।’ सन्तबहादुरले भने कुटाइ खाएर पीडित हुँदा आफूमाथि राजनीति भएको महसुस गरेका छन् । उनले आफूले जानीजानी पिटाइ खान नगएको सुनाउँदै अनेक दबाबहरु आइरहेको बताए । मरणासन्य हुने गरी प्रहार भएको भन्दा बढी न्याय नपाउने हो कि भन्ने चिन्ता उनमा छ । ‘म त ड्युटी नै गरिरहेको थिए । बर्दीमा भएको ममाथि त्यसरी प्रहार हुँदा प्रहार गर्नेहरुकोसमेत नाम दिएको छु तर यहाँ राजनीति भइरहेको छ,’ उनले भने, ‘यसअघिसम्म मेरो शरीरमा एउटा पनि घाउचोटको निशान छैन । मलाई उनीहरुसँग झगडा गर्न पर्ने कारण के छ र ? मलाई हान्नुपर्ने कारण पनि त थिएन ।’ एमालेबाट उनीहरुमाथि निकै दबाब आइरहेको छ । यतिसम्म कि अन्जान व्यक्तिहरु हरेक समय अस्पतालमै आउने र विभिन्न रिपोर्टहरुसमेत हेर्दै जाने गरेका छन् ।





