बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रदेश सांसद स्वर्गीय गौचनको अन्त्येष्टी मंसिर २ गते हुने

प्रदेश सांसद स्वर्गीय गौचनको अन्त्येष्टी मंसिर २ गते हुने


  • लालप्रसाद शर्मा
  • कार्तिक २९ २०८१, बिहिबार

पोखरा/ डेंगुको कारण ज्यान गुमाउन पुगेकी गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनको आगामी मंसिर २ मा अन्त्येष्टी हुने भएको छ । उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा गए मध्यराती गौचनको मृत्यु भएको थियो ।

प्रतिनिधिसभा सदस्य समेत रहेका म्याग्दी कांग्रेस जिल्ला सभापति खम्बिर गर्बुजाले मंसिर २ मा गौचनको अन्त्येष्टी गर्ने तयारी भइरहेको बताए । ‘अमेरिकामा रहेका छोरा शुक्रबार दिउँसो आउँदै हुनुहुन्छ’, गर्बुजाले टेलिफोनमा ढोरपाटनसंग भने, ‘शनिवार अन्त्येष्टी नगर्ने भन्ने कुरा छ । त्यसैले आगामी आइतबार अर्थात् मंसिर २ मा म्याग्दी सदरमुकाम बेनी पुराएर शवको अन्त्येष्टी गर्ने योजना छ ।’ काठमाडौंबाट शवलाई हेलिकोप्टरमार्फत गण्डकी प्रदेश सभा सचिवालयमा पुराई श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि बेनी लैजाने उनले बताए ।

गण्डकी प्रदेश सभाका सचिव हरिराज पोखरेलले स्वर्गीय गौचनको शव ल्याउनका लागि हेलिकोप्टरसंग कुराकानी भइरहेको बताए । गौचनका देवर नाता पर्ने मुस्ताङ कांग्रेसका नेता रोमी गौचन थकालीले अमेरिकाबाट छोरा आएपछि आवस्यक छलफल गरी शवको अन्त्येष्टी गरिने बताए । डेंगु लागेर काठमाडौंस्थित घरमै आराम गरिरहेका बेला केही असहजता भएपछि बुधवार राती अस्पताल पुराइएकोमा हृदयघात भइ उनको मृत्यु भएको थियो ।

५ वर्षअघि सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गौचन कांग्रेसबाट उम्मेदवार बनेर पराजित भएकी थिइन् । २०७९ को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेकी उनी कांग्रेसबाट प्रदेश सांसद चुनिइन । काग्रेसबाट ९ समानुपातिक सांसद निर्वाचित भएकोमा गौचन एक थिइन् ।

म्याग्दीको बेनी नगरपालिका–८ निवासी ६३ वर्षीया गौचनकाे २०१८ मंसिर १८ मा मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङमा जन्म भएको थियो । उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ म्याग्दीको पूर्व सभापति थिइन् । उनका एक छोरा र एक छोरी छन् । छोरा अमेरिकामा रहेका र छोरी भने आमासंगै रहदै आएकी थिइन् । गौचनका श्रीमान् राम गौचनको २०६४ मा निधन भएको थियो ।

होटल तथा रेष्टुराँ व्यवसायी संघ म्याग्दीकी पूर्व अध्यक्ष गौचनको सदरमुकाम बेनीमा ३० वर्षदेखि यति होटल संचालनमा छ । सधै हँसिलो मुहार, निर्धक्कसाथ बोल्ने, केही गर्नुपर्छ भन्ने हुट्हुटी भएकी र मेहनत गर्नुपर्छ भन्ने भावना गौचनमा थियो । ‘साह्रै मिलनसार हुनुहुन्थ्यो’ सभापति गर्बुजाले भने, ‘पार्टीले एक सक्रिय कार्यकर्ता गुमाएको छ ।’ उनी यही भदौ २ र ३ गते मुस्ताङकै दामोदर कुण्ड पुगेका बेला लेक लागेर बिरामी परेकी थिइन । नेपाली सेनाले उनको उद्धार गरेको थियो ।

कात्तिक १० गतेमात्रै गण्डकी प्रदेशसभाको अर्थ तथा बिकास समितिले आयोजना गरेको कालीगण्डकी करिडोर र कोरला नाकाको स्थलगत अनुगमन तथा निरीक्षणमा गौचन पनि सहभागी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->