पोखरा/ नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभालल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच विहीबार दुईपक्षीय हितका विषयमा छलफल भएको छ ।
अन्नपूर्ण हिमाल आरोहणको ७५ औं वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताएका छन् । फ्रान्सेली नागरिक मौरिस हर्जोग नेतृत्वको टोलीले पहिलोपटक अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । अन्नपूर्णको सफल आरोहणको इतिहासपछि मात्रै संसारै सबैभन्दा अग्लो सगरमाथा हिमालको आरोहण भएको थियो ।
हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेको ७४ वर्ष पूरा भएको छ । सन् २०२५ मा हिमाल आरोहणको ७५ औं वर्षगाँठमा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको राजदूत कोर्टेभलले आचार्यलाई बताएकी छन् । हर्जोग नेतृत्व टोलीले सन् १९५३ जुन ३ मा अन्नपूर्ण प्रथम पहिलो पटक आरोहण गरेको थियो । भेटमा अन्नपूर्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको जियोलोजिकल (भौगर्भिक) सर्भेका लागि प्राविधिक सहयोगसहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बीचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहोर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुई पक्षीय पर्यटन प्रवद्र्धन तथा विकासमा सहकार्य गर्ने लगायतका विषयमा पनि छलफल भएको थियो ।





