काठमाडौं / नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ। विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको बताए। भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले मध्यान्न विद्युत् निर्यात गर्नेछ।
भारतले स्वीकृति दिइसकेकाले शुक्रबार दिउँसो १२.४५ बजे नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीद्वारा ‘भर्चुअल’ उद्घाटन गरी बिजुली पठाइने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
२५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बेच्न भारतले सहमति दिएको छ ।
बंगलादेशलाई बिजुली बेच्दा मुलुकलाई प्रतिमहिना करिब ३३ करोड आम्दानी हुने घोषले बताए । कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणको भनाइ छ ।
नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ । सोहीअनुसार नेपालले यस वर्ष शुक्रबार मात्र बंगलादेशलाई बिजुली बेच्ने छ । त्यसपछि बिजुली बेच्न अर्को वर्ष कुर्नुपर्नेछ ।
विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो। सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत् बङ्गलादेश निर्यात गरिनेछ। प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ। सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बङ्गलादेश पुर्याउनेछ।
सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बङ्गलादेश पुग्नेछ। प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात गरिने जनाएको छ।
प्रवक्ता घोषका अनुसार प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेश पठाउनेछ। यसैबीच, बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ।
सरकारले सन् २०३५ सम्म तय गरेको कार्ययोजनामा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र १५ हजार मेगावाट भारत र बङ्गलादेश निर्यात गर्ने रणनीतिक लक्ष्य निर्धारण गरिएको छ।
‘नेपालको बिजुली बङ्गलादेश निर्यात हुनु आफैँमा महत्वपूर्ण र ऐतिहासिक परिघटना हो’, प्राधिकरणका प्रवक्ता घोषले भने, ‘लामो समयदेखिको मेहनतको परिणाम हासिल भएको छ।’





