काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद थोपरेर नआउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समाजवाद आफ्नो आर्थिक, सामाजिक, भौतिक परिवेशअनुसार जगबाटै उमार्नुपर्ने बताएका छन् ।
सोमत घिमिरेले लेखेको पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद अरु देशको नक्कल गर्ने विषय नभएको बताए ।
उनले भने, ‘समाजवाद नक्कल गरेर आउँदैन । कुनै पार्टी विशेषले दस्तावेजमा लेखेर आउँदैन । यसलाई त आफ्नो परिवेशअनुसार, उत्पादन पद्धतिबाट, समाज, भूगोल, संस्कृति, अर्थतन्त्रका ऐतिहासिकताबाट समाजवाद उमार्ने हो ।’
उनले नेपाल कुनै बेला विदेशमा खाद्यान्न निर्यात गर्ने देशका रूपमा चिनिए पनि विगत ५०/६० वर्षको राजनीतिले हरेक क्षेत्रमा परनिर्भर बन्नुपर्ने अवस्था आएको बताए । हरेक विषयको नक्कल गरेर होइन, हाम्रै विशेषता र इतिहास अनि अहिलेको विज्ञान प्रविधिलाई प्रयोग गरेर आधुनिक समाजवादको निर्माण गर्नुपर्ने प्रचण्डले बताए ।
विश्वमा अहिले पनि समाजवादबारे तीन धारणा रहेको उनले बताए । उनले भने, ‘एउटा विशुद्ध सिद्धान्तवादी धर्मशास्त्रको रूपमा बुझ्ने । दोस्रो, अनुभववादी तरिकाले हेर्ने र तेस्रो, व्यवहारवादी धारणा । त्यसमध्ये म तेस्रो धारमा पर्छु ।’





