पोखरा/ डेंगुको उपचार गराउने क्रममा हृदयघात भई ज्यान गुमाएकी प्रदेश सांसद बिमला गौचनको शनिवार गण्डकी प्रदेश सभामा श्रद्धाञ्जलीसहित अन्तिम बिदाई गरिएको छ । यसअघि मंसिर २ गते आइतबार मात्र अन्तिम संस्कार गर्ने तयारी भइरहे पनि परिवारले शनिवारै गर्ने निर्णय गरेपछि गौचनको शव पोखरा ल्याईएको हो । धार्मिक परम्परा अनुसार स्वर्गीय गौचनको अन्तिम संस्कार म्याग्दीको बेनीमा आजै हुने छ ।

प्रदेश सभा सचिवालयको प्राङगणमा राखिएको स्वर्गीय गौचनको शवमाथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय झन्डा ओढाएका थिए । प्रदेशका मन्त्रीहरु, उपसभामुख बिनाकुमारी थापा, सांसदहरु, परिवारजन, पत्रकार, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, कर्मचारी, सुरक्षकर्मीलगायतले गौचनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उक्त अवसरमा नेपाली कांग्रेस गण्डकी समितिले पनि पार्टीकाे झन्डा ओढाएर अन्तिम बिदाई गरेको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डे, काग्रेस गण्डकी सभापति शुक्रराज शर्माले पार्टीको झन्डा ओढाएका थिए । उक्त अवसरमा कांग्रेसका नेता कार्यकर्ताहरु श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका थिए । थकाली सेवा समितिले पनि संस्थाको झन्डा ओढाएको थियो । त्यस अवसरमा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनलगायतको सहभागिता थियो ।

गौचनको शव एम्बुलेन्सबाट बिहान ५ बजे पोखरा ल्याईपुराए पनि प्रदेश सभा सचिवालयमा भने ७ बजेर १० मिनेटको समयमा लगिएको थियो । उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा कात्तिक २८ मा उनको मृत्यु भएको थियो । अमेरिकामा रहेका छोरा रोशन गौचन शुक्रबार दिउँसो नेपाल आएपछि राती नै एम्बुलेन्समार्फत शव ल्याईएको हो । यसअघि काठमाडौंबाट शवलाई हेलिकोप्टरबाट गण्डकी प्रदेश सभा सचिवालयमा ल्याउने तयारी भए पनि मौसमको भर नहुने भन्दै परिवारले एम्बुलेन्समार्फत ल्याएको हो ।

स्वर्गीय गौचन २०७९ को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेकी उनी कांग्रेसबाट प्रदेश सांसद चुनिएकी थिइन् । काग्रेसबाट ९ समानुपातिक सांसद निर्वाचित भएकोमा गौचन एक थिइन् । म्याग्दीको बेनी नगरपालिका–८ निवासी ६३ वर्षीया गौचन २०१८ मंसिर १८ मा मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङमा जन्म भएको थियो । उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ म्याग्दीको पूर्व सभापति र कांग्रेस गण्डकी समिति सदस्य थिइन् । उनका एक छोरा रोशन र छोरी अनुषा छन् । छोरा अमेरिकामा रहेका र छोरी भने आमासंगै रहदै आएकी थिइन् । गौचनका श्रीमान् राम गौचनको २०६४ मा निधन भएको थियो ।

होटल तथा रेष्टुराँ व्यवसायी संघ म्याग्दीकी पूर्व अध्यक्ष गौचनको सदरमुकाम बेनीमा ३० वर्षदेखि यति होटल संचालनमा छ । सानैदेखि सामाजिक स्वभावको, समाज सेवा र साथीभाईको सेवामा तल्लिन रहदै आएकी गौचन उद्यमशिलता, एकल महिलाको हकहित र अधिकार, महिला सशक्तीकरणमा पनि सक्रिय थिइन । कसैलाई सहयोग गर्नुपरेमा आफैलाई पनि बिर्सने बानी उनको रहेको निकटस्थहरु बताउँछन् । उनी नेपाली कांग्रेस पार्टीमा आबद्ध भए पनि सबै पार्टी, उमेर समुह, समुदायले उनलाई माया गर्थे । सरलता र उदारता गुण भएकी गौचन थकाली सेवा समितिको केन्द्रीय उपाध्यक्ष भइसकेकी र म्याग्दी र मुस्ताङको बिकासमा सधै क्रियाशील थिइन् ।

गण्डकी प्रदेश सभामा पनि उनको क्रियाशीलता राम्रो थियो । शुन्य समय, विधेयकमाथिको छलफल, नीति तथा कार्यक्रम, बजेटमाथिको छलफलमा उनले नियमित रुपमा सहभागिता जनाउँदै आइन् । प्रदेश सभा बैठकमा उनको उपस्थिति नियमित नै थियो । प्रदेश सभाको अर्थ तथा बिकास समितिको सदस्य रहेकी उनले समितिमा पनि नियमित उपस्थिति जनाई उत्तिकै क्रियाशीलता जनाएकी थिइन् ।

उनी यही भदौ २ र ३ गते मुस्ताङकै दामोदर कुण्ड पुगेका बेला लेक लागेर बिरामी परेकी थिइन । नेपाली सेनाले उनको उद्धार गरेको थियो । कात्तिक १० गतेमात्रै गण्डकी प्रदेशसभाको अर्थ तथा बिकास समितिले आयोजना गरेको कालीगण्डकी करिडोर र कोरला नाकाको स्थलगत अनुगमन तथा निरीक्षणमा गौचन पनि सहभागी भएकी थिइन् ।



















