पोखरा/ प्रदेश सभा सदस्य विमला गौचनको निधनमा आइतबार प्रदेश सभा सचिवालयमा बिदा हुने भएको छ । प्रदेश सभा सचिवालय व्यवस्थापन समितिको निर्णय अनुसार आइतबार १ दिन शोक बिदा गर्ने र सरकारी झण्डा आधा झुकाउने निर्णय भएको सूचना अधिकारी उपसचिव प्रेम सुवेदीले बताए । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा निर्वाचित गौचनको ६३ वर्षको उमेरमा यही कात्तिक २८ गते निधन भएको थियो । उनको शनिवार अन्तिम संस्कार गरिएको छ ।
यसैबीच नेपाली कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले गौचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रदेश सभा सदस्य गौचनको असमायिक निधनले नेपाली कांग्रेस संसदीय दल, गण्डकी प्रदेशलाई स्तब्ध बनाएको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । व्यावसायिक एवं सामाजिक क्षेत्रमा समेत सक्रिय गौचनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण दलले गरेको छ । यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धितालले पनि अलगअलग विज्ञप्ति जारी गरी गौचनको निधनप्रति दुख व्यक्त गरेका छन् ।





