बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नछुट्ने भए रवि र छवि, काठमाडौंमा पनि पक्राउ पुर्जी

नछुट्ने भए रवि र छवि, काठमाडौंमा पनि पक्राउ पुर्जी


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८१, आइतबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको छ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गर्नुपरेकाले अनुमतिका लागि काठमाडौं जिल्ला प्रहरी परिसरले अनुमति माग गरेको थियो।

आइतबार अदालत न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएका हुन्।

स्वर्णलक्ष्मी पनि जीबी राई समूहको सहकारी हो। त्यही समूहद्वारा सञ्चालित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको छ।

बन्जाडेलाई त्यसअघि नै पक्राउ गरिसकिएको थियो। कास्की प्रहरीले उनीहरूविरुद्ध त्यहाँको जिल्ला अदालतमा मुद्दा लैजाने तयारी गरिरहेको छ।

यहीबीचमा रवि र छवि दुवै जनालाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रुपन्देही लगिएको थियो। त्यहाँ बयान सकेर दुवैलाई पोखरा फर्काइसकिएको छ।

यसैबीच, स्वर्णलक्ष्मी सहकारी प्रकरणमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-६ घर भएका कमल लामा र काठमाडौँ महानगरपालिका–३१ की सुनिता नेवा छिन्।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जीबी राईसहित २२ आरोपीविरुद्ध यसअघि नै अदालतबाट पक्राउ अनुमति जारी भइसकेको थियो।

जिल्ला प्रहरी परिसरका अनुसार, यस प्रकरणमा ६ सय ४५ जना पीडित बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्। स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको उनीहरूको दाबी छ। सो सहकारीमा २७ हजार निक्षेपकर्ताले २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->