पोखरा / मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनका लागि आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता सकिएको छ। उम्मेदवारी दर्ताको कार्यक्रम उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जनाको मात्र उम्मेदवारी दर्ता भएकाले उनी निर्विरोध निर्वाचित हुने भएका छन्।
यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ५ पदका लागि ३५ महिला, ४८ पुरूष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरूष र १ अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषा जिल्ला, धनुषाधाम नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम पूर्वी रूकुम जिल्ला, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्ष पद र बझाङ जिल्ला, सुर्मा गाउँपालिका वडानं. ४ को वडाध्यक्ष पदमा ३/३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भई सूची प्रकाशन भएपछि भोलि सोमबार ३ गते बिहान १०.०० बजेदेखि अपरान्ह ३.०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मंगलबार ४ गते अपरान्ह ५.०० बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६.०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
यस्तै ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३.०० देखि ५.०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
यसरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि मंसिर १६ गते आइतबारका दिन बिहान ७.०० देखि अपराह्न ५.०० बजेसम्म मतदानको कार्यक्रम तय भएको छ। मतदान कार्यमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न आयोगले सम्बन्धित सबै मतदातामा आह्वान पनि गरेको छ।





