बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

व्यवसायिक सीपः रोजगारी र आत्मनिर्भरता तर्फको कदम

व्यवसायिक सीपः रोजगारी र आत्मनिर्भरता तर्फको कदम


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८१, सोमबार

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् । सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको उद्घाटन गर्दै उनले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताए ।

‘आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ । दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोहि बमोजिम लगानी गरिरहेको छ,’, उनले भने । मन्त्री थापाले काम गरेर कोही पनि सानो नहुने र श्रमका लागि सीपको आवश्यकता पर्ने बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिए । सीप सिकेर नेपालमा नै स्वरोजगारी बन्ने बाटोमा अग्रसर रहन मन्त्री थापाको अनुरोध छ । ‘सीप सिकेर युवाहरु विदेश पलायन भएको समस्या समाजमा व्याप्त छ, त्यस्तो हुनु भएन । सरकारले विदेश पठाउनका लागि सीप सिकाएको होइन । स्वदेशमा नै उद्यमशिल र स्वरोजगारी बन्ने बाटोमा अग्रसर हुनुपर्यो’, उनले भने ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले समाजमा भएको निराशाजनक विषयको अन्त्य सीप सिकेर नै हुने उल्लेख गरे । तालिमले रोजगारीको अवसर सिर्जना गर्ने हुँदा यसको फाइदा उठाउन सहभागीलाई उनको अनुरोध छ । मन्त्रालयले आवश्यकताअनुसारको तालिम आगामी दिनमा पनि उपलब्ध गराउने जानकारी उनले गराएका छन् ।  व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका प्रमुख लक्ष्मीभद्र वाग्लेले प्लम्बिङ्ग, आधारभूत केश श्रृङ्गार, विद्युत जडान, आधारभूत कटाई सिलाई, कपाल काट्ने (सैलुन), फेसन डिजाइनर, मन्टेश्वरी, मोबाइल मर्मत र आधारभूत कम्युटर गरी ९ वटा विषयवस्तुमा तालिम दिइने जानकारी गराए । उनका अनुसार तालिमका लागि प्रदेशभरबाट ४ सय जनाको आवेदन परेको र १ सय ९९ जना छनोट गरिएको छ । स्वरोजगार स्थापना र उद्यमशिलताको विकासका लागि आयोजना गरिएको तालिम प्रभावकारी हुनेमा उनी आशावादी छन् । आर्थिक वर्ष २०८१ / ०८२ को वार्षिक विकास बमोजिम तीन महिने र छोटो अवधिको गरि कुल ३७ वटा कार्यक्रम तय भएको जानकारी उनले गराए । कार्यक्रममा प्रशिक्षकको तर्फबाट कृष्णप्रसाद थापा र सिता वाग्लेले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->