पोखरा/ नेकपा माओवादी केन्द्रको कास्की जिल्ला संयोजकमा विश्वप्रकाश लामिछानेले जिम्मेवारी पाएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले लामिछानेलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो ।
यसअघि लामिछानेलाई कास्की संयोजक बनाउन कास्की ईञ्चार्ज रामजीप्रसाद बरालले सिफारिस गरेका थिए । सो सिफारिसका आधारमा गण्डकी प्रदेश कमिटीकी अध्यक्ष गायत्री गुरुङले प्रस्ताव गर्दा सर्वसम्मत निर्णय भएको बरालले बताए । पार्टीका गण्डकी प्रदेश ईञ्चार्ज दीननाथ शर्मा, सहईञ्चार्ज हरि अधिकारीको उपस्थितिमा बसेको बैठकमा पार्टीका प्रदेश कार्यालयका सदस्यहरु, गण्डकीका ११ वटै जिल्लाका ईञ्चार्जहरु तथा गण्डकी प्रदेश कमिटीका पदाधिकारीहरुको उपस्थिति थियो ।
नेकपा माओवादी केन्द्र कास्की संयोजक बनेका लामिछाने नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष हुन् । उनी पार्टीको गण्डकी प्रदेशका सचिवालय सदस्य पनि हुन् ।





