काठमाडौं/विप्रेषण आप्रवाह ११ दशमलब ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान तथा वित्तीय स्थितिको तथ्यांकमा रेमिट्यान्स आप्रवाह बढेको देखिएको हो ।
उक्त तथ्यांक अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ११ दशमलब ५ प्रतिशतले वृद्धि भई ४ सय ७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलब ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ सय ४२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ सय ४ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ ।
मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । असार मसान्तसम्मको तुलनामा विदेशी मुद्रा सञ्चिति ९.४ प्रतिशत बढेको बैंकले जनाएको छ ।





