काठमाडौं / प्रहरीले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।
त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले पुष्टि गरे । विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंबाट बरामद ल्यापटप र मोबाइललाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाउने तयारी छ । डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन् ।
‘त्यस्तो कीर्ते कागजात उनले कसरी बनाए रु अरु कसैले पठाएको हो भने कसले पठायो भन्ने विषय पनि अनुसन्धानका क्रममा खोज्नुपर्ने भएकाले बरामद गरेका हौं’, एक अनुसन्धान अधिकृतले भने, ‘मोबाइल र ल्यापटपबाट ती कागजातको स्रोत पत्ता लाग्न सक्छ भन्ने अपेक्षा हो ।’
प्रसाईंले सोमबार युट्युबरहरु बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबी गरेका थिए । त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए ।
प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ । गलत विवरणका भरमा प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएपछि उनी अनुसन्धानको दायरामा परेका थिए ।
प्रसाईंमाथि सरकारी लिखत कीर्तेको कसुरमा पनि अनुसन्धान गर्ने प्रहरी तयारी छ । सीआईबीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि उनलाई साइबर ब्यूरोको जिम्मा लगाएको छ ।
प्रसाईंको घरबाट प्रहरीले थप २५ जनालाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। जसमध्ये १५ जनालाई प्रहरीले मंगलबार साँझ नै छाड्ने तयारी गरेको छ। बाँकी १० जनामाथि भने थप अनुसन्धान हुनेछ।
‘नियन्त्रणमा रहेकाहरू आन्दोलन परिचालन समितिका सदस्यहरू छन्, उहाँहरूसँग सोधपुछ गर्ने काम भइरहेको छ,’ उनले भने। प्रसाईंले मंसिर ७ गते काठमाडौंमा आन्दोलन गर्ने तयारी गरेका थिए।





