बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध, किर्ते र संगठित अपराधसहित आधा दर्जन कसुरमा अनुसन्धान सुरु

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध, किर्ते र संगठित अपराधसहित आधा दर्जन कसुरमा अनुसन्धान सुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८१, बुधबार

काठमाडौ / साइबर अपरांधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान थालेको हो ।

विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुलीको विषयमा प्रसाईंमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान थालिएको हो । ‘दुर्गा प्रसाईंको मान्छे हुँ’ भन्दै विभिन्न व्यक्तिले बैंकर र व्यवसायीलाई धम्क्याएर रकम मागेको जाहेरी सीआईबीमा परेको छ । बैंकर र व्यवसायी गरी ४ जनाले अपरिचित व्यक्तिबाट धम्की आएको भन्दै साताअघि सीआईबीमा जाहेरी दिएका थिए ।

भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोई’ को समेत नाम लिएर भारत र यूएईबाट धम्क्याएर रकम मागेको प्रहरीको भनाइ छ । ‘दुर्गा प्रसाईं र लरेन्स बिस्नोईको नाम लिएर धम्की दिई बैंकर र व्यापारीसँग रकम मागेको जाहेरी परेको छ, त्यसको प्रारम्भिक जाँच गर्दा यूएई र भारतबाट फोन गरेको देखियो,’ सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीले भने, ‘को–कसको संलग्नता छ भन्ने अनुसन्धानकै क्रममा छ । यसमा आपराधिक लाभसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ ।’

पक्राउपछि प्रसाईंलाई साइबर ब्युरोको जिम्मा लगाइएको र सीआईबीबाट अन्य कसुरहरूमा अनुसन्धान थालिएको उनले बताए । प्रहरीले प्रसाईंसँग जोडिएका आर्थिक कारोबारसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

एक महिनाअघि राष्ट्र बैंकले पनि प्रसाईं र उनका आफन्तका नाममा विदेशबाट शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धान गर्न सीआईबीमा पत्र पठाएको थियो । विभिन्न देशबाट प्रसाईं र उनका आफन्त नातेदारका खातामा सन् २०२१ यता साढे १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आएको भन्दै राष्ट्र बैंकले यो रकम शंकास्पद कारोबार हुन सक्ने आशंकासहित अनुसन्धानका लागि एक महिनाअघि सीआईबीमा पत्र पठाएको थियो ।

यसबारे अनुसन्धान गर्न राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) बाट एक महिनाअघि पत्र आएको प्रहरीको भनाइ छ । उक्त रकम गैरकानुनी रूपमा आएको भेटिए सम्पत्ति शुद्धीकरणसहितको कसुरमा कारबाही हुनेछ । प्रसाईंले आफ्ना व्यवसाय सञ्चालनका लागि विभिन्न बैंक वित्तीय संस्थाबाट साढे ५ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएको देखिएको र यो कर्जा कानुनअनुसार प्रयोग भए नभएको विषयमा पनि अनुसन्धान अघि बढेको एसपी बोगटीले बताए । यसमा बैंकिङ कसुरअन्तर्गत कर्जा दुरुपयोगसम्बन्धी कानुनअनुसार अनुसन्धान अघि बढाइएको छ ।

केही दिनअघि प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको दूरसञ्चार कम्पनीमा लगानी गरेको र आफूसँग त्यसको प्रमाण रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका थिए । नेपालका नेताहरूले सिंगापुर, कम्बोडिया, मंगोलिया, तुर्कमिनिस्तान, साउथ अफ्रिका, केन्यामा पैसा लुकाएको र यसमध्ये प्रधानमन्त्री ओलीले कम्बोडियाको दूरसञ्चारमा लगानी गरेको उनको दाबी थियो ।

प्रसाईंले आफूसँग लिखित, सिग्नेचर भएका प्रमाण रहेको र प्रमाण जुटाउन मात्र १ करोड साढे ११ लाख खर्च गरेको दाबी गरेका छन् । त्यसपछि प्रहरी निगरानीमा रहेका प्रसाईंलाई सीआईबीले अदालतबाट अनुमति लिएर मंगलबार पक्रेर थप अनुसन्धान गर्न साइबर ब्युरोको जिम्मा लगाएको हो ।

प्रसाईंले साइबर अपराधसम्बन्धी कानुनको बर्खिलाप गएर प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । सीआईबीले ‘प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने भ्रामक समाचार सम्प्रेषण गरी सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पार्ने गरी घृणा, द्वेष फैलाउने कार्य गरेको’ भन्दै प्रसाईंलाई अदालतको अनुमतिमा पक्राउ गरेको हो ।

सीआईबी आफैं प्रतिवेदक (जाहेरीकर्ता) बनेर प्रसाईंलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । अदालतले सीआईबीको आग्रहअनुसार नै पक्राउ अनुमति दिएको थियो । त्यसपछि मंगलबार पक्राउ गरेर अनुसन्धानका लागि साइबर ब्युरोको जिम्मा लगाइएको छ । सीआईबी प्रवक्ता बोगटीका अनुसार प्रसाईंसहित उनी समर्थक १० जना पनि पक्राउ परेका छन् । जसमा देवी संग्रौला, यदुनाथ सिग्देल, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदीप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुल्सी विक र रमेश सिंह छन् । अरू केही अझै फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई बुधबार अदालतमा उपस्थित गराउने तयारी छ । दुई महिनाअघि मात्र प्रसाईं साइबर अपराधकै आरोपमा भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->