पोखरा/जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सन्तुलित विकासको अवधारणालाई व्यवहारमा कसरी उतार्न सकिन्छ भन्ने विषयमा मन्थन गरेको छ । सो कार्यक्रममा बोल्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले सन्तुलित विकासका लागि सरोकारवाला कार्यालयसहित स्थानीयहरूलाई पनि सचेत गराउनुपर्ने आवश्यकता औंल्याए ।
विकासोन्मुख देशमा नागरिकका आवश्कयता बढी हुँदा र त्यसलाई पूरा गर्ने क्रममा सन्तुलन खल्बलिन सक्ने उनको भनाइ थियो । उनले विकासका सबै सूचकांक सकारात्मक बनाउन सामूहिक प्रयास जरुरी भएको पनि स्वीकारे । नीति निर्माणका क्रममा देखिएका त्रुटि सच्याउँदै अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले विकास जनताका लागि भएको तथ्य स्मरण गर्दै वातावरण र प्रकृतिमैत्री भौतिक विकासको अवधारणा कार्यान्वयन गर्दामा मात्रै लक्षित आर्थिक र सामाजिक उन्नति सम्भव हुने बताए । तथ्यांक समन्वय कार्यालय पोखराका प्रमुख नन्दलाल सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै सन्तुलित विकासले मात्रै दीगो विकासका लक्ष्य पूरा हुने र तब मात्रै समाजमा सकारात्मक परिबर्तन संभव हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा रूपा गाउपालिकाका प्रमुख नवराज ओझा, जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्य, नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेल, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका अधिकारी, होटल एसोसिएसन नेपालका उपाध्यक्ष गणेशराज पहारी, इन्सेक गण्डकीका प्रमुख शिव खकुरेल, एनजिओ फेडेरेसन गण्डकीका अध्यक्ष पदम बहादुर पाहारी, पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान गण्डकी अस्पतालका निर्देशक डाक्टर भरत खत्री,संघीय आयोजना कार्यान्वयन ईकाइ प्रमुख सुनिता श्रेष्ठसहितले सन्तुलित विकासका सन्दर्भमा आफ्नो धारणा राखेका थिए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बराल र स्वागत जिसस कास्कीका सदस्य सीतादेवी विश्वकर्माले गरेकी थिइन् ।





