बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीमा घट्यो कृषि भूमि, माछा उत्पादनमा पाँच प्रतिशत वृद्धि

गण्डकीमा घट्यो कृषि भूमि, माछा उत्पादनमा पाँच प्रतिशत वृद्धि

अध्ययन रिपोर्टका अनुसार यस क्षेत्रमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९ दशमलव २ प्रतिशत रहेको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८१, शनिबार
फाईल तस्वीर

पोखरा / गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको छ । तर तरकारी खेतीले ढाकेको क्षेत्रफल भने थोरै भएपनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा गण्डकी प्रदेशमा कृषी क्षेत्र घट्दै गएको पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०-८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब ७ दशमलव ७ प्रतिशतले घटेको उल्लेख छ ।

बैङ्कले सार्वजानिक गरेको अध्ययन रिर्पोट अनुसार गण्डकीमा ४ लाख ३७ हजार ९ सय ७२ हेक्टर मात्रै कृषि बालीले ढाकेको क्षेत्र रहेको छ । त्यसमा तरकारीखेतीले ढाकेको क्षेत्रफल भने २ दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको छ । अत्याधुनिक खेती प्रणालीका कारण उत्पादनमा केही बढोत्तरी भएको पनि सो अध्ययन रिपोर्टमा उल्लेख छ ।
रिपोर्ट अनुसार मसला, फलफूलखेती र खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफल क्रमशः शून्य दशमलव ४१ प्रतिशत, आठ दशमलव २३ प्रतिशत र ८ दशमलव ३८ प्रतिशतले कमी आएको छ ।

प्रमुख कृषि बालीको उत्पादनमा भने ४ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीको उत्पादनमा ४ दशमलव ७१ प्रतिशत, तरकारी उत्पादनमा ५ दशमलव ४४ प्रतिशत, फलफूल उत्पादनमा ३ दशमलव ८० प्रतिशत र मसला उत्पादनमा ४ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ ।

पशुजन्य उत्पादनतर्फ दूधको उत्पादन ३ दशमलव ३८ प्रतिशत, अण्डाको उत्पादन १५ दशमलव २९ प्रतिशत र मासुको उत्पादन एक प्रतिशतले ह्रास आएको छभने माछाको उत्पादनमा ४ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।

वनजन्य उत्पादनतर्फ काठको उत्पादनमा २६ दशमलव १९ प्रतिशतले वृद्धि भएको छभने दाउरा उत्पादनमा ३ दशमलव १४ प्रतिशतले कमी आएको छ । यस प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा रु. २८ अर्ब ४० करोड कर्जा लगानी गरेका छन् । यो रकम गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ८ दशमलव १४ प्रतिशत रहेको छ ।

अध्ययन रिपोर्टका अनुसार यस क्षेत्रमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९ दशमलव २ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ४२ दशमलव ४ प्रतिशत रहेको थियो । सिमेन्ट, औषधि, बिस्कुट, प्रशोधित दूध, तोरीको तेल र चुरोटको उत्पादनमा वृद्धि भएको छभने इँटा, चकलेट, चाउचाउ, ड्राई सिरप औषधि, वियर, ट्याब्लेट औषधि, तरल औषधि र क्याप्सुल औषधिको उत्पादनमा कमी भएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ८ दशमलव ८८ प्रतिशत अर्थात् रु. ३१ अर्ब एक करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । यस प्रदेशमा पर्यटक आगमनको सङ्ख्या छ दशमलव एक प्रतिशतले वृद्धि भई ५५ हजार एक सय ४९ रहेको छ । त्यस्तै होटलको शैय्या सङ्ख्या बिक्री २४ दशमलव तीन प्रतिशतले वृद्धि भई ७३ हजार एक सय २६ रहेको छ । होटलहरुको अकुपेन्सी ३० दशमलव ७३ प्रतिशत छ । जुन गत वर्ष २४ दशमलव ६१ प्रतिशत थियो ।

आन्तरिक तथा बाह्य पयर्टनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा सकारात्मक प्रभाव देखिएको हो । प्रदेशमा २१ हवाई कम्पनीमार्फत उडान भई ११ हजार चार सय ८५ पटक उडान भएको छभने हवाई कम्पनीको सिट उपयोग क्षमता ७७ दशमलव ८५ प्रतिशत रहेको छ । गत वर्षको हवाई कम्पनीको सिट उपयोग क्षमता ७४ दशमलव ५४ प्रतिशत थियो ।

गण्डकीमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति बढेको, बसाइँसराईलगायत कारणले विद्यार्थी र शिक्षकको सङ्ख्यामा क्रमशः ३ दशमलव ४० प्रतिशत र ४ दशमलव १६ प्रतिशतले कमी आएको छ । विद्यार्थी सङ्ख्यामा आएको कमीले गर्दा क्याम्पसहरु गाभिन गई क्याम्पसको सङ्ख्यामा समेत दुई दशमलव ८२ प्रतिशतले कमी आएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु. ५ खर्ब ३४ अर्ब ४० करोड पुगेको छ । कुल कर्जा प्रवाह भने एक दशमलव सात प्रतिशतले ह्रास भई रु. ३ खर्ब ४९ अर्ब सात करोड पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा ९ दशमलव ९० प्रतिशतले वृद्धि भई रु. २३ अर्ब ७६ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->