पोखरा/सुजल फुड्स प्रालिले नेपालको सर्वाधिक प्रिय क्यान्डीमध्ये एक, रिमझिम बल, लाई पुनः बजारमा ल्याएको छ । सन् १९७६ मा पहिलोपटक ल्याइएको यो क्यान्डीको मिठ्ठो र पिरो स्वादको अनौठो मिश्रणले धेरैको बाल्यकाल यादगार बनाउन सहयोग गरेको थियो । यसलाई माया गरेर ‘ब्ल्याक बल’ भनेर चिन्ने प्रशंसकहरूका लागि यो क्यान्डीको मीठो पिरो स्वादले छुट्टै स्थान ओगटेको कम्पनीले जनाएको छ । समयसँगै, रिमझिम बललाई उपभोक्ताहरूले विभिन्न नामहरू जस्तै ब्ल्याकबल क्यान्डी, मीठो पिरो क्यान्डी, कालो मिठाइजस्ता नामहरू दिएको पनि कम्पनीले स्मरण गरेको छ ।
कम्पनीले यो ओरिजिनल ब्ल्याक बल क्यान्डीलाई पुनः बजारमा ल्याउँदा पुरानो स्वादलाई जस्ताको राखिएको तथा क्यान्डीको आकारसमेत ठूलो बनाइएको बताएको छ । ४.५ ग्रामको यो क्यान्डीको मूल्य २.५ मा कायम गरिएको छ । रिमझिम बल आकर्षक जार तथा प्याकेटमा उपलब्ध भएको जनाउँदै कम्पनीले जारमा १५० पिस र प्याकेटमा ८० पिस स्वादिलो रिमझिम हुने पनि जानकारी दिएको छ ।
‘रिमझिम बलको नयाँ मार्केटिङ अभियानले विगत र वर्तमानको गहिरो सम्बन्धलाई सम्मान गर्दै, पुराना प्रशंसक र आजका युवा पुस्तामा समेत ट्रेन्डिङमा रहेको पिरो स्वाद र प्रशंसकले दिएको नाम ‘मिठ्ठोपिरो क्यान्डी’ र ‘ब्ल्याक बल’ को ब्यानरमुनि रहेर यसको पुनः लन्चिङका बिभिन्न क्रियाकलापहरु गदै छ,’ कम्पनीको घोषणा छ, ‘रिमझिम बलको पुनः लन्चको सुरुवात पोखरा बाट गरिएको छ, र छिट्टै यो क्यान्डी देशैभर उपलब्ध हुनेछ ।’





