आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट

स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८१, मंगलबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताएका छन् । स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उनको भनाई छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा पोखरामा सञ्चालित १७ औं हिसान स्पोर्ट्स मीट २०८१ को मंगलबार उद्घाटन गर्दै प्रमुख अतिथि भट्टले स्वस्थताका लागि खेलकुदको महत्वलाई प्रष्ट पारेका हुन् । ‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगी सिद्ध छ । स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन् । अनि मात्र मुलुक समृद्ध बन्दछ,’ भट्टले भने ।

खेलकूद र शिक्षा एक अर्काका पूरक भन्दै उनले यसलाई तालमेल मिलाउँदै हिसान कास्कीले विगत १७ वर्षदेखि यस प्रकारका गतिविधि गरेकोमा धन्यवाद दिए । ‘विद्यालयमा विभिन्न क्षेत्र, लिङ्ग, वर्ग, संस्कृति र सामाजिक परिवेशका बालबालिका अध्ययन गर्न आउँछन् । उनीहरूलाई शिक्षासँगै खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकासका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ’, उनले भने । खेलकुद विकासको आधार स्तम्भ विद्यालय रहेको बताउँदै उनले दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुदको विकासको विकल्प नरहेकोमा जोड दिए ।

पछिल्लो समय नेपाल खेलकुदको माध्यमबाटसमेत चिनिँदै गएको उल्लेख गर्दै उनले सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताए । खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढिरहेको जनाउँदै उनले बालबालिकाको शिक्षा, स्वास्थ्य एवं खेल भविष्यका लागि सानैबाट पहलकदमी लिई जस्ता संस्थाले गरेको गतिविधि प्रशंसायोग्य रहेको बताए ।

हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् । ‘स्वास्थ्य, अनुशासन र प्रतिभा प्रस्फुटनका लागि खेलकुद’ नाराका साथ आयोजित १७ औं संस्करणको खेलकुद महोत्सवमा कास्कीका ७५ विद्यालय तथा कलेजहरूका ५ हजार भन्दा बढी विद्यार्थीले दर्जनौं प्रकारका खेलकुद प्रतियोगितामा सहभागिता जनाएको हिसान कास्कीका सचिव किरण सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->