उत्तर कोरियाबाट भागेर आइ दक्षिण कोरियामा बस्दै आएका मानिसहरूको समूह अहिले एउटा कडा र अभूतपूर्व ‘मिशन’ को पैरवीमा लागेको छ, युक्रेनको अग्रमोर्चामा जाने र त्यहाँ खटाइएका उत्तर कोरियाली सैनिकहरूलाई भाग्नका निम्ति सघाउने ।
उनीहरूले तर्क गरेअनुसार उत्तर कोरियाली सेनाको मनोदशा र संरचनाबारे उनीहरूसँग गहिरो जानकारी छ । त्यसकै बलमा उनीहरू ती सैनिकहरूलाई भाग्नका निम्ति फकाउन सक्छन्, जसलाई मृत्युलाई ‘गौरव’का रूपमा हेर्न सिकाइएको छ ।
उत्तर कोरिया सरकारले लगभग १०,००० सैनिकलाई युक्रेनविरुद्ध लड्नका निम्ति रुस पठाएको विवरणहरूले दक्षिण कोरियामा बसिरहेका उत्तर कोरियाबाट भागेर आएकाहरूमा चिन्ता पैदा भएको छ ।
देशका निम्ति आय सुरक्षित गर्न र सैन्य प्रविधिको आधुनिकिकरणका निम्ति उत्तर कोरियाली नेता किम जङ अनले यस्तो कदम चालेको धेरैको बुझाइ छ । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले यसरी खटाइएका प्रत्येक सैनिकबापत उत्तर कोरियाले मासिक २,००० डलर प्राप्त गर्ने अनुमान गरेको छ, जुन प्योङयाङका निम्ति ठूलो लाभको स्रोत हुनेछ ।
उत्तर कोरियाली सैनिकहरू सन् १९७० को भियतनाम युद्धमा पनि तैनाथ थिए । त्यसयता युक्रेनमा भएको संलग्नता नै आधुनिक युद्धमा उनीहरू सामेल भएको पहिलो घटना हो ।
उत्तर र दक्षिण कोरिया सन् १९५० मा सुरु भइ १९५३ मा सकिएको कोरियाली युद्धदेखि नै प्राविधिक रूपमा युद्धमै छन् । यिनलाई क्रमशः चीन र अमेरिकाको समर्थन प्राप्त छ र उनीहरूको तनावपूर्ण सम्बन्ध स्थायीजस्तै छ ।
एउटा अनुमानका अनुसार ७० वर्षअघि कोरियाली प्रायद्विप विभाजित भएयता ३४,००० उत्तर कोरियालीहरू देश छाडेर दक्षिण कोरिया प्रवेश गरेका छन् ।
आह्वान
उत्तर कोरियाबाट भागेर आएका मानिसहरूको दुई संगठन– ‘नर्थ कोरिअन क्रिश्चिअन सोल्जर्स असोसिएशन’ र ‘नर्थ कोरिअन डिफेक्टर सिनियर आर्मी’ले उत्तर कोरिया सरकारको ‘अमानवीय व्यवहार’को निन्दा गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् जसमा आफूहरूलाई युक्रेन जान दिन आह्वान गरिएको छ ।
‘आफ्नो शासनका निम्ति र आफ्नो युद्ध उपकरणको आधुनिकिकरणका निम्ति रकम प्राप्त गर्न जनताका छोराहरू बलि चढाउन पठाउने किम जङ अनको शासनको आमानवीय कार्यको हामी कडा निन्दा गर्छौँ,’ उनीहरूले भनेका छन् ।
‘नर्थ कोरिअन क्रिश्चिअन सोल्जर्स असोसिएशन’का पूर्व अधिकारी तथा नेता सिम जु–इल यो ‘मिशन’ अत्यावश्यक भएको विश्वास गर्छन् । ‘(त्यहाँ खटाइएका) सैनिकहरू सायद उत्तर कोरियामा दिइएको ‘मेरो मृत्यु शान्दार हो’ भन्ने शिक्षाको भ्रम बोकेर लडिरहेका हुन सक्छन् । हामीले तिनलाई (त्यस्तो होइन भनेर) बुझाउनुपर्छ,’ उनले भने ।
‘यदि म अग्रमोर्चामा गएँ भने उत्तर कोरियाली सेनासँगै सम्भवतः मेरो सामना बन्दुक र गोलीसँग हुनेछ । तर मेरो उद्देश्य भने उनीहरूलाई युद्धको वास्तविकताबारे शिक्षित बनाउनु हो,’ उनले थपे ।
रणनीतिहरू
उत्तर कोरियाबाट भागेर आइ दक्षिणमा बसोबास गरिरहेकाहरूको समूहले युद्धमा खटाइएका उत्तर कोरियाली सैनिकहरूसम्म पुग्न विभिन्न उपायहरू सुझाएका छन् । त्यसमा मनोवैज्ञानिक युद्धनीतिका रूपमा ड्रोनबाट पर्चा खसाल्ने, मेगाफोनबाट सन्देश प्रसारण गर्ने तथा सामाजिक सञ्जालमार्फत् अभियान चलाउने लगायतका उपाय प्रस्ताव गरिएका छन् ।
‘पर्चा छर्न हामी ड्रोनको प्रयोग गर्छौँ अनि यूट्युबजस्ता सामाजिक सञ्जालहरूको प्रयोग गर्छौँ । हामी अग्रमोर्चा नजिकै जान पायौँ भने मेगाफोनको प्रयोग गरेर मनोवैज्ञानिक युद्धनीति कार्यान्वयन गर्न सक्छौँ,’ ‘वल्र्ड इन्टिट्यूट फर नर्थ कोरिया स्टडिज’का निर्देशक तथा ‘नर्थ कोरिअन डिफेक्टर सिनियर आर्मी’का नेता डाक्टर अन चेन–इलले भने ।
डाक्टर अनले कुनै समयमा उत्तर कोरियाको नागरिक सुरक्षा बटालियनमा काम गरेका थिए । उनी युक्रेनको युद्धमा ‘स्टोर्म कोर’ नामको कुख्यात एकाइ (जो घुसपैठ, पूर्वाधार तोडफोड र हत्याका निम्ति प्रशिक्षित छ) सहितको उत्तर कोरियाली बलको सम्भावित संलग्नताबारे चिन्तितत छन् ।
‘यदि उत्तर कोरियाली सेनाका दुईदेखि तीन डिभिजनहरू पठाइए भने पक्कै पनि हाम्रा निम्ति प्रशस्त काम हुनेछ । उक्त वक्तव्य त्यसैका निम्ति हो,’ उनी भन्छन् ।
विवरणहरूका अनुसार केही भगौडाहरूले हालै मात्र एउटा संगठन बनाएका छन् जसको उद्देश्य युक्रेनमा खटाइएका उत्तर कोरियाली सेनाहरूलाई भाग्नका निम्ति प्रेरित गर्नु हो । उनीहरूको रणनीतिमा युक्रेनी सेनालाई पर्चा र अडिओ सामग्री उपलब्ध गराउनु हो जसले अग्रमोर्चाबाट भाग्नका निम्ति उत्तर कोरयाली सैनिकहरूलाई सहायता गर्न सक्नेछन् ।
चुनौतीहरू
व्यवहारिक तथा कूटनीतिक अवरोधहरूले यी योजनाहरूलाई जटिल बनाउन सक्छन् । दक्षिण कोरियाको विदेश मन्त्रालयले युक्रेनको यात्रा गर्न रोक लगाएको छ । नियम नमान्नेहरूले एक वर्षसम्मको जेल सजाय वा ७,००० डलरसम्मको जरिवाना तिर्नु पर्ने हुन सक्छ । त्यसका साथै उत्तर कोरियाली भगौडाहरूलाई युक्रेन पठाउने कदमले प्योङयाङ र मस्कोलाई उत्तेजित तुल्याउन सक्छन्, जसले क्षेत्रीय सुरक्षामा अस्थिरता निम्त्याउन सक्छ ।
‘हामी जानेछौँ र लड्छौँ’ भनेर घोषणा गर्नु राम्रो हो, तर टुकडी खटाउनु वैदेशिक सम्बन्धको हकमा संवेदनशील कुरा हो,’ दक्षिण कोरिया बलून गु्रपका प्रमुख मिन–बोक भन्छन् । यो समूह पनि उत्तर कोरियाली भगौडाहरूको अर्कै समूह हो ।
अरूहरू उत्तर कोरियाली सैनिकहरूलाई भाग्नका निम्ति राजी बनाउन सकिने कुरामा नै सन्देह व्यक्त गर्छन् । ली वूङ–गिल उत्तर कोरियाको विशिष्ट ‘स्टोर्म कोर’का पूर्व सदस्य हुन् । उनी त्यस्तो कार्यले उल्टै क्षति गर्न सक्ने चेतावनी दिन्छन्, ‘तपाईँले उनीहरूसँग भाग्ने कुरा गर्नुभयो भने तिनले तपाईँको निधारमा गोली हान्नेछन्,’ उनी भन्छन् । त्यसबाहेक उनले ख्याल गरेको अर्को कुरा के हो भने वर्षौँदेखि दक्षिण कोरियामा बस्दै आएका केही भगौडाहरूसँग उत्तर कोरियाली सेनाको आन्तरिक अवस्थाबारे अद्यावधिक ज्ञान छैन ।
‘नर्थ कोरिअन क्रिश्चिअन असोसिएशन’का सिम उत्तर कोरियाली सेनामा अन्र्तनिहित अनुशासन र बफादारी तोड्ने कुरालाई चुनौतीका रूपमा लिन्छन् ।
‘किम जङ अन आफ्नो सेना जब (मैदानमा) गएर राम्रोसँग लड्छ, तब मानिसहरूलाई ‘उत्तर कोरियाली सेना मजाक होइन’ भन्ने सन्देश दिन चाहन्छन् ।’
‘के उत्तर कोरियाको तैनाथीको योजना एक वा दुई दिनअघि मात्रै बनाइएको होला त ? उनीहरूले रुससँग मिलेर योजना बनाएको र सोहीअनुरूप तालिम भएको हुनुपर्छ,’ उनी भन्छन् ।
‘उनीहरू (उत्तर कोरियाली सैनिकहरू) त्यस्ता मानिसहरू हुन् जो पार्टी र आफ्ना नेताका निम्ति मर्न दृढ र तयार भएर परिचालित छन् । पैसा र खानेकुरा नभएका केही मानिसहरूलाई यसो जम्मा पार्यो अनि लड्न पठायो जस्तो गरेर उनीहरूलाई परिचालन गरिएको होइन ।’
‘कोरिया इन्स्टिट्यूट फर डिफेन्स एनालिसिस’सम्बद्ध डाक्टर डू जिन–होका विचारमा सोझै चर्को माइकबाट सन्देश प्रसारण गर्नु निकै जोखिमपूर्ण हुन्छ । ‘जतिबेला (उत्तर कोरियाविरोधी) प्रसारण सुरु हुन्छ, तिनलाई ड्रोनले उडाइन्छ,’ उनी चेतावनी दिन्छन् ।
‘स्टोर्म कोर’का पूर्वसदस्य ली वूङ–गिल सञ्चारका अप्रत्यक्ष उपायहरू सुझाउँछन् । उनी सोझो सम्पर्कको तुलनामा भिडिओ सन्देश र अडिओ रेकर्डिङहरू अधिक प्रभावकारी हुने ठान्दछन् । ‘दक्षिण कोरियामा आएर हामीझैँ खुसीसाथ बसेका उत्तर कोरियाली भगौडाहरूका छोटा–छोटा भिडियोहरू पठाइयो भने अधिक सहयोगी हुनसक्छ ।’
उत्तर कोरियाली सेनाले त्यस्ता सामग्रीहरूमाथि पहुँच पाउन कठिन पारिदिने भएकाले ली ‘एमपीथ्री–प्लेयर’ र पुराना सेलफोनहरूमा त्यस्ता सामग्री भरेर पठाउने प्रस्ताव गर्छन् ।
सामना गर्ने क्षमता
यस किसिमका जोखिम र सन्देह हुँदा हुँदै पनि उत्तर कोरियाली भगौडाहरू आफ्नो ‘मिशन’मा दृढ छन् ।
‘हामी (भगौडाहरू) त्यस्ता मान्छे हौँ जो आफूलाई जे ठिक लाग्छ त्यही गर्छौँ । हाम्रा आखिरी दिनहरू यसरी योगदान गरेर बिताउन पाए कति अर्थपूर्ण हुँदो हो,’ सिम भन्छन् ।
उत्तर कोरियाबाट भागेर आएकाहरूका योजना छलफलकै क्रममा रहँदा युक्रेनी सरकारले भने यसतर्फ कदम चालिसकेको छ ।
युक्रेनी सरकारले उत्तर कोरियाली सैनिकहरूलाई लक्षित गर्दै यूट्यूब र टेलिग्राममा ‘कोरियाली जनसेनाका सैनिकहरूलाई सन्देश’ शीर्षकको भिडिओ जारी गरेको छ ।
दक्षिण कोरियाका विदेश तथा एकीकरण मन्त्रालयहरूले उत्तर कोरियाली भगौडाहरूको युक्रेन यात्रा गर्ने मनाशयबारे ‘आफ्नो कुनै धारणा नभएको’ भनेर टिप्पणी गरेका छन् ।
युक्रेनी विदेश मन्त्रालयका सञ्चारसम्बन्धी प्रवक्ता हेओरी टेखियीले बीबीसीलाई बताएअनुसार (युक्रेनका तर्फबाट) उत्तर कोरियाली भगौडाहरूलाई ‘स्वागत गरिनुका साथै’ आफ्नो ‘अन्तर्राष्ट्रिय सैन्य टुकडी’मा सामेल हुन प्रोत्साहित गरिएको छ ।
‘उनीहरूलाई यहाँ युक्रेनमा स्वागत गर्न पाउँदा र सहकार्य गर्न पाउँदा हामी खुसी हुन्छौँ । उत्तर कोरियाली सेनाबारे उनीहरूको ज्ञान, भाषा र बुझाइ हाम्रा निम्ति अतुलनीय रूपमा मूल्यवान् हुन सक्छन्,’ उनले भने ।
उनले यो पनि भने ः ‘(रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनको युक्रेनविरुद्धको आक्रामक युद्धमा उत्तर कोरियाली सेनाको संलग्नताले विश्व स्तरको गम्भीर खतरा उत्पन्न गरेको छ जसले विश्वव्यापी प्रतिक्रियाको माग गर्दछ ।’





