बागलुङ / जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालनमा रहेको ग्रामिण स्वास्थ्य सुधार परियोजनाले निरन्तरता पाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । फेयरमेड फाउण्डेसनको सहयोगमा सामाजिक संस्था बिवाईसी बागलुङले सात बर्षदेखि परियोजना सञ्चालन गरिरहेको छ ।
परियोजनाले ग्रामिण क्षेत्रको स्वास्थ्य सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले परियोजनाको निरन्तताको लागि अनुरोध गरे । सरकारले गरेका काममा छुटेका बिषय समट्न परियोजना सहयोगी बनेको उनको धारणा थियो । थापाले परियोजना मार्फत भएका कामको दिगोपनाका लागि समेत अझै केही बर्ष निरन्तरता आवश्यक रहेको बताए ।
सन २०१८ देखि सुरुभएको परियोजना सकिने चरणमा छ । फेयरमेड फाउण्डेसनले नयाँ रुप दिएर परियोजना थप गर्ने योजनामा छ । जिल्लामा कृयाशिल सरोकारवालाले भने ग्रामिण स्वास्थय सुधार परियोजनाले थालेका कामकै निरन्तरताका लागि आग्रह गरे ।
काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलकले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा भैरहेका कामका लागि परियोजनालाई धन्यवाद दिए । उनले हार्नै नमिल्ने स्वास्थ्य क्षेत्रमा सरकारले काम गर्दागदै भैरहेका कमीमजोरिमा परियोजना साथी बनेको बताए । जनचेतना अभिबृद्धि, उपकरण तथा प्रबिधिको अध्याबधीका काममा सहयोग पुर्याउने परियोजनाको आवश्यकता रहेको उनको भनाई थियो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुरदराजमा स्वास्थ्यका कामका लागि परियोजना उपयोगी बनेको बताए ।
परियोजनाले स्वास्थ्य संस्थाहरुमा उपकरण सहयोग, प्रसुती प्रतिक्षाघरहरु निर्माण, प्रयोगशला स्थापना, तालिम तथा प्रशिक्षण, मातृशिशु सुरक्षा, पोषण सम्बन्धि सचेतना, बिभिन्न दिवस तथा पर्वहरु, उपेक्षीत रोगहरु, अपांगता भएकाहरुको लागि सहयोग लगायत स्वास्थ्यका बिभिन्न क्षेत्रमा काम गरेको बिवाईसी बागलुङका सचिव बिक्रम शर्माले बताए ।





