बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

रविको हिरासत अनुभव कहाँ काम लाग्ला ?

रविको हिरासत अनुभव कहाँ काम लाग्ला ?

रविमाथि राजद्रोहको हैन, सहकारी ठगीको आरोप छ । त्यो आरोपबाट मुक्त नहुँदा उनको बाँकी राजनीतिक यात्रा त्यति सहज देखिँदैन ।


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८१, शनिबार

पोखरा/त्यो बेला रवि लामिछाने आफूलाई संचारकर्मीको रुपमा चिनाउँथे । न्यूज २४ टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ संचालन गर्ने उनी जनसरोकारका विषयमा खरो टिप्पणी गर्थे । मै हुँ भन्ने व्यक्तिलाई सोझै टेलिफोन गरी झाँको झार्थे । त्यही शैलीको कारण उनको लोकप्रियताको पारो पनि उँचो थियो ।
२०७६ सालको साउन २० गते चाहिँ उनीमाथि अनौठो आरोप लाग्यो । एक समय ‘सिधा कुरा जनतासँग’मा रवि लामिछानेसँगै काम गरेका शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत भेटिए । आत्महत्या गर्नुअघि पुडासैनीले आफूलाई रवि लामिछाने,युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीले मर्न बाध्य पारेको भन्ने भिडियो रेकर्ड गराएर छाडेका थिए । त्यो भिडियो बाहिरिएसँगै साउन ३० गते आत्महत्या दुरुत्साहनको आरोपमा लामिछाने,कँडेल र कार्की पक्राउ परे । उनीहरुलाई चितवन प्रहरीको हिरासतमा पु¥याइयो । रवि पक्राउ परेपछि उनका समर्थकहरु सडकमा ओर्लिए । तर,१५ दिन हिरासत बसाइपछि चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले रविसँग ५ लाख युवराजसँग ३ लाख धरौटी र अस्मितालाई साधारण तारेखमा छाड्न आदेश दियो । रवि हिरासत मुक्त भए । उनको स्वागतमा समर्थकहरुको ठूलो भीड जम्मा भयो । २०७६ सालको माघमारविले सो मुद्दाबाट सफाइ पाए ।
चितवन प्रहरी कार्यालयको १५ दिने हिरासतमा रविको अनुभव कस्तो रह्यो ? उनी स्वयंले सार्वजनिक गरेका छैनन् । तर, जब हिरासत मुक्त हुँदा पाएको समर्थनले भने उनी हौसिएकै हुनुपर्छ । २०७७ सालको पुसमा रविले न्यूज २४ छाडेको घोषणा गरे । त्यसपछि उनले नेटवर्किङ तथा सहकारी संचालकको रुपमा रहेका गितेन्द्रबाबु राई (जीबी) को लगानीमा ग्यालेक्सी फोरके टेलिभिजन खोले । रवि प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी फोरकेको २०७८ साल असोज १५ गते भव्य उद्घाटन गरियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर उद्घाटन गरिएको टेलिभिजनमा पनि रवि उही ‘सिधा कुरा’ चलाउँथे । ‘फ्यान फ्लो’ उस्तै थियो । तर, उनले २०७९ सालको असारमा एकाएक सो टेलिभिजन छाडे ।
रवि लोकप्रिय थिए । चितवन प्रहरीको हिरासतबाट मुक्त हुँदा आफ्नो पक्षमा सडकमा उत्रेको भीड देखेकै थिए । २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौंमा बालेन साह,धरानमा हर्क सामपाङ र धनगढीमा गोपी हमाल निर्वाचित भएपछि रविको मन राजनीतितर्फ मोडियो । पत्नी निकिता पौडेलले त्यो चुनावमा बालेन साहलाई मतदान गरेकी थिइन् । रविलाई राजनीतिमा आउन प्रोत्साहित गरेको उनी स्वयंले स्वीकारेकी छन् । त्यसपछि रविले असार ७ गते नै राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) को घोषणा गरे । असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको पार्टीले मंसिरमा सम्पन्न प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिट जित्यो । चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रवि ३४ हजारको मतान्तरले विजयी बने । समानुपातिकतर्फका १३ सांसदसहित संसदमा रविको जवर्जस्त प्रवेश भयो । माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससँगको चुनावी गठबन्धन तोडेका माओवादी अध्यक्ष प्रचण्डले पुस १० गते रास्वपालाई सरकारमा सामेलमात्र गराएनन्, पुस ११ गते उपप्रधान तथा शक्तिशाली गृहमन्त्री बनाए ।
रविविरुद्द २०७६ को मंसिर ६ गते नै खारेज भइसकेको नागरिकता पेश गरेर चितवन–२ बाट उम्मेदवार बनेको भन्दै छानबिन र कारवाहीको मागसहित ६ मंसिरमा गृह मन्त्रालयमा उजुरी परेको थियो । लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता लिएको र पछि त्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाएको जिकिर गरिएको थियो । रविको नागरिकता मुद्दा सर्वोच्च अदालत पुग्यो । सर्वोच्च अदालतले माघ १३ गते रविलाई दोषी करार ग¥यो । उनको सांसद र गृहमन्त्री पद गयो । रविको राप र ताप उस्तै थियो । २०७९ सालको माघ १५ गते उनले काठमाडौं जिल्ला प्रशासनबाट पुनः नेपाली नागरिकता प्राप्त गरे । २०८० साल असार १० गते चितवन २ मा भएको उपनिर्वाचनमा रवि नै उम्मेदवार बने । झुटा विवरण दिइ राहदानी लिएको मुद्दामाथि अनुसन्धान भइरहे पनि उम्मेदवारीमा बाधा भएन । उपनिर्वाचनमा रविले झन बढी मत ल्याए । ३३ दिनमै गृहमन्त्रालय छाड्न बाध्य उनी १३ महिनापछि २०८० फागुनमा पुनः उपप्रधान र गृहमन्त्री बने ।
त्यसपछिको उनको यात्रा चाहिँ विवादास्पद नै रह्यो । कारण, त्यो बेलासम्म उनी सूर्यदर्शन सहकारी प्रकरणमा जोडिइसकेका थिए । पोखरामा रहेको सूर्यदर्शन सहकारीबाट रवि लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी फोरके टिभीको माउ संस्था गोर्खा मिडिया नेटवर्कमा रकम गएको भेटिएपछि पीडितहरुले रविसँगै १८ जनाको नाम नै किटेर पूरक जाहेरी दिएका थिए । तर, रवि गृहमन्त्री रहँदासम्म त्यो फाइल खुलेन । कतिसम्म भने महान्याधिवक्ताको कार्यालयले जानकराी माग्दा कास्की प्रहरीले उनीविरुद्ध कुनै जाहेरी नै नपरेकोसम्म भन्न भ्यायो । अनुसन्धान प्रक्रिया यसरी प्रभावित पारियो कि,प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले रवि निर्दोष भएको जिकिर गरे । तर,सहकारी ठगी प्रकरण सेलाएन । नेपाली कांग्रेसले सहकारी प्रकरण छानबिनको लागि संसदीय उच्चस्तरी समितिको माग ग¥यो । सदन अवरुद्द बन्यो । अन्तत ः रास्वपाकै सांसद शिशिर खनालसमेत सामेल गरी एमाले सांसद सूर्य थापाको नेतृत्वमा संसदीय उच्चस्तरीय छानबिन समिति बन्यो । २०८१ सालको जेठ १५ गते बनेको समितिले तीन महिनाको म्याद पायो ।
यही बीचमा देशमा राजनीतिक कोर्ष बदलियो । एकाएक रास्वपासहितको गठबन्धन भत्कियो र नेपाली कांग्रेस अनि एमालेबीच नयाँ समीकरण बन्यो । असार १७ गते कांग्रेस–एमालेबीच भएको सहमतिपछि प्रचण्ड अल्पमतमा परे । असार २८ गते विश्वासको मत नपाएपछि प्रचण्डसँगै रविको पनि सत्तावहिर्गमन भयो । संसदीय विशेष छानबिन समितिको सुझाव अनुसार उनलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरियो । रातारात पोखरा ल्याइयो र कात्तिक ४ गते पहिलोपटक अदालत पेश गरी ५ दिनको म्याद लिइ अनुसन्धान सुरु गरियो । अर्थात् रविको हिरासत बसाइ सुरु भयो ।
रवि भित्र, बाहिर आन्दोलन
रवि पक्राउको विरोधमा रास्वपाले आन्दोलन चर्कायो । देशैभरका रास्वपा नेता÷कार्यकर्ता पोखरा ओर्लिए । देशका अन्य भागमा पनि प्रदर्शनहरु भए । कास्की प्रशासनले पोखराका केही संवेदनशील क्षेत्रलाइं निषेधित घोषित ग¥यो । रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयत्न गरे । तर,आन्दोलनले गति लिएन । बरु, चितवनमा भएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएपछि चाहिँ रास्वपा आलोचित बन्यो । पोखराको आन्दोलन रोकेर काठमाडौंमा प्रदर्शन गर्ने भन्दै रास्वका नेताहरु फर्किए । फितलो प्रदर्शनपछि रास्वपाले आन्दोलनको कार्यक्रम फिर्ता लियो ।
अहिले पनि रवि कास्की प्रहरीको हिरासतमै छन् । अनुसन्धानको लािग अन्तिमपटक थपिएको ४ दिनको म्याद शुक्रबार राति १२ बजे सकिँदैछ तर उनी आइतबार र सम्भवतः त्यसउताका केही दिन कास्की प्रहरीकै हिरासतमा रहनेछन् । किनकि, जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १९ जनाविरुद्ध शुक्रबार कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधसहितको पूरक अभियोग दर्ता गर्दा उनीसहित ३२ जनालाई पनि प्रतिवादी कायम गरिसकेको छ । रविसहितका अन्यलाई आइतबारमात्र पूरक अभियोग लगाउने सरकारी वकिलको कार्यालयले तयारी गरेको कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिएकी छन् । आइतबार पूरक अभियोजन दर्ता भएपछि रविसँग बयान लिइनेछ भने त्यसपछि थुनछेकको बहस सुरु हुनेछ । बहसपछि अदालतले रवि हिरासतमुक्त हुने वा जेल जाने फैसला गर्नेछ । उनी प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी फोरके टिभीको माउ संस्था गोर्खा मिडियामा सूर्यदर्शन सहकारीबाट ५ करोड २८ लाख रुपैयाँ गएको संसदीय छानबिन विशेष समितिले औंल्याएको छ । यसैगरी रविमाथि सुप्रिम, स्वर्णलक्ष्मी, सहारा चितवन र सानोपाइला सहकारीबाट कानून विपरीत गोर्खा मिडियामा रकम प्रवाहमा संलग्न रहेको किटान गरिएको छ । उनलाई ती सहकारी भएको ठाउँमा लगेर पनि बयान गराइ सकिएको छ । शुक्रबार अन्य प्रतिवादीलाई जसरी बिगोसहित १० वर्षसम्मको जेल सजायको माग गरिएको छ । अनुसन्धानपछि कास्की प्रहरीले बुझाएको प्रतिवेदनमा रविको हकमा पनि त्यस्तै अभियोजन लगाउन सुझाइएको स्रोतले बताएको छ ।
हिरासत बसाइ र छटपटी
कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान नसकिएको भन्दै पुस २ गते कास्की जिल्ला अदातलसँग थप ४ दिन समय माग्यो । सो उपक्रममा न्यायाधीश हिमलाल बेल्बासेले रविलाई बोल्ने समय दिए । त्यसपछि रविले भनेका थिए,‘म यत्तिका दिन त हिरासतमा बसिसकेँ, अनुसन्धानलाई सघाइसकेँ । यसलाई नथुनेको भए यो प्रमाण नष्ट हुन्थ्यो, यो चाहिँ कागज पाइँदैन थियो, पक्राउ गरेर जोखिमबाट बच्यो भन्ने कुराचाहिँ के छ ? भनेर मैले पटकपटक सोधेँ । जवाफ आजसम्म पाएको छैन ।यसलाई समाएका कारण हामीले यो जोगायौँ, अनुसन्धानमा यस्तो प्रमाण भेट्टायौँ भन्ने एउटा चिज देखाइदिए म सन्तुष्ट हुन्थेँ श्रीमान् ।’
रविको कुरा सुनेपछि न्यायाधीश बेल्बासेले मुस्कुराउँदै भनेका थिए,‘तपाईंको यो अनुभव पछि काम लाग्छ ।’
रविलाई हिरासतमा विशेष सुविधा दिइएको छ । कास्की प्रहरी स्रोतका अनुसार छुट्टै कोठमा राखिएका रविलाई घाम ताप्ने सुविधा छ । पुस्तक पढ्न पाउँछन् । हाइप्रोफाइल व्यक्तिहरु हिरासतमा रहँदैको बेला ‘बिरामी’बनिदिन्छन् । रविले चाहिँ लामो हिरासत बसाइमा अस्पतालको बेड रोजेनन् । हिरासतमा रहँदा आफ्ना पार्टीका नेता तथा शुभेच्छुकसँग भेटघाटको लागि खुकुलो वातावरण बनाइयो । आफ्नै पार्टीका नेता त भइहाले, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासम्मले उनलाई हिरासतमै पुगेर भेटे ।
बरु, चितवन प्रहरीले मंसिर २० गते गाडीमा राखेर उनलाई पोखरा ल्यायो । सुतिरहेको व्यक्तिलाई रातारात पोखरा ल्याएर प्रहरीले मानवअधिकारको हनन गरेको आरोप लगाइयो । रवि स्वयंले पनि पोखरा ल्याउने क्रममा आफूमाथि अमानवीय व्यवहार गरेको आरोप लगाए । आफ्नो डायरी हराएको बताए । सो समयमा आफ्नो ब्लड प्रेसरसमेत बढेको जानकारी दिए । रास्वपाले विज्ञप्ति जारी गरी रविको डायरी खोसिएको आरोप लगायो । ‘प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय,अपमानजक तथा गैरन्यायिक चाल हो । यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भत्र्सना गर्दछौं,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।
प्रहरीले हिरासतभित्र दुव्र्यवहार गरेको भन्दै लामिछानेकी श्रीमती निकिता पौडेलले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि आयोगमा उजुरी नै दिइन् । राष्ट्रिय मानवअधिकार आयोगले कास्की हिरासतमा रहेका रविसँग सोधपुछ ग¥यो । मानव अधिकार आयोगका अधिकृत टंक खनालसँगको भेटमा चाहिँ रविले डायरी नलेखेको बरु साना कागजका टुक्रामा टिपोट गर्ने गरेको जानकारी दिए । यो प्रकरण अहिले सामसुमजस्तो भएको छ । उता बिहीबार चाहिँ हिरासतमा रहेका उनको तस्वीर बाहिरियो । रास्वपाका सहकोषाध्यक्ष दीपक बोहोराले तस्वीर सार्वजनिक गरेर प्रहरीले मानव अधिकार उल्लंघन गरेको आरोप लगाए । सामाजिक सञ्जाल तात्यो । रास्वपाकै शुभेच्छुक डा. निकोलस भुषालले त्यो तस्वीर आफूले सार्वजनिक गरेको अभिव्यक्ति दिए । रास्वपा पुनः अप्ठेरोमा प¥यो । प्रहरीले चाहिँ छानबिनको लागि समिति बनायो ।
हिरासतमा रहेका रवि बाहिर के भइरहेको छ भन्नेमा जानकार छन् । उपाध्यक्ष डीपी अर्यालको ‘रवि ज्यूँदो रहेसम्म उहाँ नै अध्यक्ष’ भन्ने अभिव्यक्तिलाई आधार मान्ने हो भने पार्टीभित्र रवि नै सर्वेसर्वा छन् । उनकै निर्देशनमा नेताहरुले पार्टी हाँकीरहेको पनि प्रष्ट छ । लामो हिरासत बसाइ र पटक–पटकको बयान अनि अदालतसामुको उपस्थितिबाट उनले न्यायाधीश बेलबासेले भनेजस्तै गज्जबको अनुभव संगालेका छन् । सम्पत्ति शुद्धीकरणको सम्भावित अभियोजन र त्यो प्रमाणित हुँदाको परिस्थितिबारे आँकलन नहुने कुरै भएन ! आउँदा दिनमा रवि कसरी अगाडि बढ्लान् ? उत्तर सहज छैन ।
‘रवि महत्वाकांक्षाको घोडा चढेर लोकरिझ्याइँ र पुराना राजनीतिक पार्टीप्रतिको नागरिक असन्तुष्टिलाई क्यास गर्न त रवि सफल भएकै हुन् तर उनीमा राजनीतिक सुझबुझ कम देखिएको छ,’ एमालेका एक नेता भन्छन्,‘ उनको हिरासत बसाइ अघिल्लो पुस्ताका नेताहरुको जस्तो हैन । उनी सहकराी ठगी र संगठित अपराधमा मुछिएका छन् । यो कलंकको टीका मेट्न सजिलो छैन । तर, सत्य के हो भने रविको पार्टी चाहिँ तत्काल सकिने छैन । उनले महत्वकांक्षाको घोडाको लगाम तत्काल छाड्ने छैनन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->