लेखनाथ/कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले समाजमा ब्याप्त लागुऔषध तथा सुर्तीजन्य पदार्थको न्यूनिकरणका लागि सामुहिक अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रले शुक्रबार लागुऔषध तथा सुर्तिजन्य पदार्थ न्यूनिकरण सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले लागुऔषध नियन्त्रण केवल प्रहरी प्रशानसने मात्र नभई यहाँ रहेका समाजिक संघसंस्था तथा सचेत नागरिकले अभियान नै चलाउनु पर्ने आवस्यकता औल्याएका हुन् ।
लागुऔषधका घटनालाई हेर्दा कास्की दोस्रो जिल्लाका रुपमा स्थापित भएकाले यसलाई कसरी घटना सकिन्छ भन्ने बारेमा हामीहरु चिन्तनसिल छौं, तर यसमा यहाँहरुको साथ सहयोग र सहकार्य आवस्यकता रहेको उनको भनाई थियो ।
सोही अवसरमा ट्राफिक कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरिक्षक जनक बहादुर शाहीले सहि तरिकाले ट्राफिक नियमको पालना गर्ने हो भने ९० प्रतिशत घटना कम गर्न सकिने बताउदै शान्ती सु–व्यवस्थाको क्षेत्रमा प्रहरीमा सुधार आईसके पनि जनस्तरमा भने अझै सुधार हुन नसकेको धारणा राखेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ, डाँडाकोनाक प्रहरी चौकीका प्रमुख श्रवण कुमार विक, लेखनाथउद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी र लोक दोहोरी गायक शिवहरी ढुंगाना लगाएतले लागुऔषध नियन्त्रणका लागि अन्तरक्रिया तथा गोष्ठी राख्नु भन्दा स्कुल वा कलेजमा सचेतनामुलक कार्यक्रम राख्ने हो भने फलदायी हुने सुझाव राखेका थिए ।
लेखनाथ सामुदायिक सेवा केन्दका अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदीले स्वागत र सदस्य नवराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।





